मध्यपुर थिमि, ३० भाद्र २०८२ः
रत्न काजि प्रजापति
हालै भएको जेन जिको आन्दोलनका क्रममा प्रहरी बृत थिमि कार्यालयबाट चोरी भएका महत्त्वपूर्ण सामग्रीहरू फिर्ता गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले सीसीटीभी फुटेज र स्थानीयको सहयोगमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ।
भाद्र २४ गते प्रहरी वृत्त थिमिमा तोडफोड र लुटपाट भएको थियो। त्यस क्रममा सवारी साधन, टिभी, कम्प्युटर, ल्यापटप, मोबाइल, क्यामेरा, अनुसन्धानका महत्त्वपूर्ण फाइलहरू, गोलीगठ्ठा र फर्निचर लगायतका सामग्रीहरू चोरी तथा नष्ट भएका थिए।
प्रहरी वृत्त थि्मिले एक सूचना जारी गर्दै चोरी भएका वा लुटिएका सामानहरू कसैले प्राप्त गरेको भए तत्काल प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ। प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिई उनीहरूबाट केही सामानहरू पनि बरामद गरिसकेको छ।
प्रहरीले दिएको सूचनामा तोकिएको समयभित्र सामान फिर्ता नगरेमा कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ। यसबाट प्रहरीले चोरीको घटनालाई गम्भीरताका साथ लिएको र संलग्नहरूलाई कानुनी दायरामा ल्याउने तयारी गरिरहेको देखिन्छ।
PC: pawan