काठमाडौँ ३१ भाद्र २०८२ः
जेन जी आन्दोलनका क्रममा निधन भएका युवाहरुको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ । शिक्षण अस्पताल महाराजगंजबाट सुरु गरिएको शवयात्रा पशुपति आर्यघाटमा पुगेपछि शहिदहरुप्रति सलामी अर्पण गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मानकासाथ अन्त्येष्टि गरिएको हो । जेन जी आन्दोलनमा निधन भएकालाई सरकारले शहिद घोषणा गर्दै असोज १ गते बुधबार भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विहानैदेखि कलिला युवाका आफन्त र परिवारका सदस्यहरु भेला हुनुभएको थियो । आन्दोलनका क्रममा मृत्यु भएकाहरुको शव पोष्टमर्टमका लागि शिक्षण अस्पतालमा राखिएको र त्यहीँबाट शवयात्रा सुरु गरिने भएपछि मृत युवाहरुका आफन्त अस्पतालमा भेला हुनुभएको हो ।
सुन्दर भविष्यको सपना जेन जी आन्दोलनका क्रममा समाप्त भएपछि मृतकहरुको परिवारका सदस्यहरुको रोदनले अस्पताल परिसर नै शोकाकुल बनेको थियो । ८ दिनदेखि बगेको आँशु आज पनि थामिएन, बगि नै रह्यो । १३ देखि २८ वर्ष उमेर समूहका युवा पुस्ता जेनजीले आव्हान गरेको भदौ २३ गतेको आन्दोलनमा गोली लागेर भर्खरका युवाहरुको शहादत भएपछि परिवार र आफन्तहरुमात्र होइन, धेरैको आशुँ युवाहरुको अन्त्येष्टिसंगै बगेको छ ।
शहादत प्राप्त गरेका युवाहरुको पार्थिव शरीरलाई शवयात्रासहित राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ । शिक्षण अस्पताल महाराजगंजबाट शुरु भएको शवयात्रा अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म भएको थियो । शव यात्रा पशुपति आर्यघाटमा पुगेपछि वन कालीतर्फको मण्डपमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको हो ।
सशस्त्र प्रहरीले अर्पण गरेको सलामीसहित शहिदहरुलाई राष्ट्रिय झण्डा ओढाएर सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सम्मान प्रकट गर्न आफन्त र शुभचिन्तकहरुसहित सर्वसाधारणको उपस्थिति रहेको थियो । ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झण्डा ओढाएर शहिदहरुप्रति सम्मान प्रकट गर्नुभयो ।
आन्दोलनमा शहादत प्राप्त गरेका १० शहीदको पार्थिव शरीरसहित अस्पताबाट सुरु गरिएको शवयात्राले नगर परिक्रमा थियो । १० मध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरियो भने बाँकी ६ जनाको पार्थिव शरीर सेनाको हेलिकप्टरबाट जन्मथलो पठाउने व्यवस्था गरिएको छ ।
जेन जी आन्दोलनमा निधन भएकालाई सरकारले शहिद घोषणा गर्दै असोज १ गते बुधबार अर्थात भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । यसैगरी शहिदका परिवारलाई जनही १० लाख रुपैया राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।