ललितपुर, ३ असोज २०८२ः
रत्न काजि प्रजापति
जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुरका प्रहरी चौकीहरूको पुनर्निर्माण तथा सुधारका लागि निजी क्षेत्र पनि सक्रिय बनेको छ। नेपालको पोल्ट्री क्षेत्रको अग्रणी संस्था ए.बी. पेलेट फिड प्रा. लि. का प्रबन्ध निर्देशक बलराम सञ्जेलले ललितपुर जिल्लाको सातदोबाटो प्रहरी चौकी पुनर्निर्माणको लागि आबश्यक सहयोग गर्नु भएको छ। यसका साथै प्रबन्ध निर्देशक सञ्जेलले चापागाउँ र छम्पीस्थित प्रहरी चौकीलाई पनि आबश्यक सामग्री तथा वित्तीय सहयोग प्रदान गर्नु भएको छ।
प्रबन्ध निर्देशक सञ्जेलले प्रहरी र समुदायबीच सहकार्य सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै भने, “सुरक्षा बललाई सहयोग पुर्याउँदा समुदायमा सुरक्षाको भावना बलियो हुन्छ र प्रहरीकर्मीलाई कार्यसम्पादनमा सहजता मिल्छ।”
संविधान दिवसको अवसर पारेर ए.बी. पेलेट फिडसँगै ललितपुर पोल्ट्री, ए.बी. एग्रो फार्म र ए.बी. चिकेन सप्लायर्सले समेत सातदोबाटो प्रहरी चौकी पुनर्निर्माणका लागि आवश्यक स्रोत साघन उपलब्ध गराएका छन्।
चापागाउँ प्रहरी चौकीका प्रमुखका अनुसार, सहयोगका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन पाएको छ भने प्रहरी सेवामा अझ सहजता आएको छ। छम्पी क्षेत्रको प्रहरी चौकीमा पनि सुविधाहरू आधुनिक र व्यवस्थित बनेका छन्।
यस पहलप्रति स्थानीयवासीहरूले खुशी व्यक्त गर्दै निजी क्षेत्रले देखाएको सामाजिक उत्तरदायित्व सराहनीय भएको प्रतिक्रिया दिएका छन्।
सुरक्षा निकाय र समुदायबीच सहकार्यलाई थप मजबुत बनाउने अपेक्षासहित यो कदमले अन्य निजी क्षेत्रका संस्थालाई पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममा सहभागी हुन प्रेरित गर्ने विश्वास गरिएको छ।