प्रा. डा. सुविर सिंह
कृषि तथा वनविज्ञान विश्वविद्यालय
रामपुर, चितवन
अंग्रेजी पात्रोको अक्टोबर महिनाको दोस्रो शुक्रबार अर्थात यस बर्षको अक्टुबर १० (२०८२ असोज २४ गते शुक्रबार) मा विश्व अण्डा दिवस (World Egg Day) नेपाल लगायत विश्वभरि मनाईदैछ । यस वर्षको विश्व अण्डा दिवसको मूल विषयवस्तु (नारा) The Mighty Egg: Packed with Natural Nutrition (प्राकृतिक पोषणले भरिपूर्ण : शक्तिमान अण्डा) रहेको छ । यस बर्षको विश्व अण्डा दिवस २९ औं बर्ष गाठको रुपमा मनाइदैछ । यस दिनलाई विश्वभरका मानिसहरूलाई पोषण दिन अण्डाले खेल्ने शक्तिशाली भूमिकाको उत्सवको रुपमा मनाउने गर्दछन् । प्राकृतिक रूप मै आवश्यक पोषक तत्वहरूले भरिपूर्ण र विकट भैगोलिक परिवेशमा समेत विश्वव्यापी रूपमा उपलब्ध योग्य, अण्डा जीवनको हरेक चरणमा स्वास्थ्य र मानव कल्याणलाई समर्थन गर्ने एक आत्म प्रभावकारी एवम् शक्तिशाली पूर्ण स्वरुपको खाद्य पोषण हो । त्यतिमात्र होईन, अण्डा विविध पाक परिकार र मानव उपयोगी सामाग्रीहरु तयार गर्न नभई नहुने बिशिष्टकृत तत्वको रुपमा समेत प्रचलित छ ।

सन् १९९६ मा अस्ट्रियाको भियनामा भएको एक सम्मेलनमा अन्तराष्ट्रिय अण्डा आयोग (International Egg Commission) द्वारा विश्व अण्डा दिवसको स्थापना गरिएको थियो । यस दिनको उद्देश्य अण्डाको बहुमुखी, पौष्टिक फाइदाहरूलाई प्रबर्धन गर्नु तथा किफायती र दिगो खाद्य स्रोतको रूपमा विश्वव्यापी रूपमा जागरूकता जगाउनु हो । यस दिवसमा अण्डाको महत्वलाई उजागर गर्न विभिन्न कार्यक्रमहरू, जनजागरण अभियानहरू र परिकार बारे जानकारीहरुको प्रचारप्रसार गर्ने जनचेतनामूलक कार्यक्रमहरु समावेश गरि विश्व भरि मनाईने गरेको छ । विश्व अण्डा दिवस नेपालमा सन् २०१७ साल (२७ असोज २०७४) देखि औपचारीक रुपमा आयोजना गर्न थालिएको छ । तत् पश्चात हरेक बर्ष जस्तो बिभिन्न आकर्षक र जनचेतनामूलक कार्यक्रमहरु संचालन गरि यस दिवसलाई मनाउने गरिएको छ ।

अण्डामा रहेको सन्तुलित पोषणको कारणले गर्दा “प्रकृतिको उत्तम खाद्य” पदार्थको रुपमा लोकप्रिय छ । अण्डाहरूमा क्यालोरी कम हुन्छ भने पोषक तत्वहरू प्रशस्त प्रकारका हुन्छन् । यस कारण अण्डालाई सबै उमेर समूहका लागि खान उपयुक्त बनाउँछ । विकासशील क्षेत्रहरूमा प्रोटीन – ऊर्जाको उत्कृष्ट उपलब्धताले मानिसमा कुपोषणलाई सम्बोधन गर्न पनि महत्वपूर्ण भूमिका हो । अण्डा एक बहुआयामिक प्राकृतिक पोषणले भरिएको मूल्यवान खाद्य पदार्थ हो जसमा मानिसलाई आवश्यक कम्तिमा १३ प्रकारका अत्यावश्यक पोषक तत्वहरू हुन्छन्, जसले मानव शरीर निमार्णका साथै मानव स्वास्थ्यको लागि रोग प्रतिरोधात्मक क्षमता निमार्ण गर्ने महत्वपूर्ण प्रोटिन प्रदान गर्दछ । एउटा ५० देखि ६० ग्रामको रातो कुखुराको अण्डामा सरदर ६.५ ग्रा. प्रोटिन तथा ०.५ ग्रा. कार्बोहाईड्रेट पाईन्छ भने महत्वपूर्ण खनिज जस्तै मैग्नेसियम, पोटासियमका साथै भिटामिन डी, भिटामिन ई, ओमेगा थ्री, कोलिन र एन्टीअक्सिडेन्ट पाईन्छ ।

विश्व मानचित्रमा नेपाल अण्डा उत्पादनमा ९२ औं स्थानमा छ भने नेपालीले बार्षिक रुपमा सरदर ६१ गोटा अण्डा खपत गर्ने गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार विगत एकदशक अघि नेपालमा हजारौंको संख्यामा रहेको व्यवसायीक लेयर्स कुखुरा फार्महरुको संख्या कोबिड १९ को मानविय बिपत पश्चात आर्थिक मन्दीका कारण घटेर हाल लगभग ६०० देखि ७५० व्यवसायीक लेयर्स कुखुरा फार्महरु मात्र संचालनमा रहेका छन् । वर्तमान अवस्थामा नेपालमा ७ वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीहरु संचालनमा रहेका छन् जसबाट सबैगरि लगभग एक लाख व्यवसायिक लेयर्स पोथी चल्ला प्रति हप्ता उत्पादन भईरहेका छन् । ती व्यवसायीक लेयर्स कुखुरा फार्महरुबाट हाल अनुमानित ५५ देखि ६० लाख अण्डा दिईरहेका कुखुराहरुबाट दैनिक सरदर ४५ देखि ५० लाख गोटा (२२,००० देखि २३,५०० कार्टून/पेटी/बाक्स) अण्डा उत्पादन भईरहेका छन् । नेपाल भेटेरिनरी पोल्ट्री एशोसिएशनका अनुसार नेपालमा सबै भन्दा सानो संख्याको व्यवसायीक लेयर्स कुखुरा फार्ममा ५०० थान कुखुरा पालिएको पाईन्छ भने सबैभन्दा बढी ६ लाख लेयर्स कुखुराहरु पालिएका अत्याधुनिक लेयर्स फार्म संचालनमा रहेका छन् । क्षमता र प्रविधिको हिसाबमा हेर्दा नेपालीलाई पोषणको लागि चाहिने जति पनि उत्पादन गर्ने क्षमता नेपाली अण्डा उद्योगसँग विकास भई सकेको छ ।

यस बर्ष पनि नेपाल भेटेरिनरी एशोसिएसन र नेपाल लेयर्स कुखुरापालक संघको संयुक्त आयोजना चितवनको भरतपुरमा एक दिने राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरिएको छ ।
उपसंहार
हामी आशा गर्छैा कि यस वर्षको विश्व अण्डा दिवसले सबैलाई, तपाईं जहाँ भए पनि र तपाईंको पृष्ठभूमि जे भए पनि विश्व अण्डा दिवस (World Egg Day) “प्राकृतिक पोषणले भरिपूर्ण ः शक्तिमान अण्डा” लाई चिन्न र मनाउन प्रेरित गर्नेछ ।