काठमाडौँ, ३० असोज २०८२ः
सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, अमेरिका, बेलायत र जापानकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले राजदूतलाई आगामी तीन साताभित्र नेपाल फर्किन निर्देशन दिएको हो। उहाँका अनुसार कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
चीनमा प्रा डा कृष्णप्रसाद ओली, जर्मनीमा डा शैल रुपाखेती, इजरायलमा प्राध्यापक धनप्रसाद पण्डित, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जङ्गबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा सनील नेपाल, संयुक्तअधिराज्य बेलायतमा चन्द्रकुमार घिमिरे, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा डा दुर्गाबहादुर सुवेदी कार्यरत हुनुहुन्छ ।