हिमपातका कारण पर्यटकीय गतिविधि प्रभावित, यात्रा नगर्न टानको आग्रह

काठमाडौँ, ११ कार्तिक २०८२ः

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकी लगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकाले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

मौसम पूर्वानुमान अनुसार नै हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथा लगायतका पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत सुरु भई पदयात्रा लगायतका सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।

अध्यक्ष पाण्डेले कतिपय स्थानमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेको भन्दै मौसममा सुधार नआउन्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्न/नगराउन, पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई अनुरोध गर्नुभएको छ ।

टानले उद्धार लगायतका कार्यका लागि सहजीकरण तथा समन्वय गर्नका लागि स्थानीय सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकाय (प्रहरी, सशस्त्र, सेना) संरक्षण क्षेत्रका व्यवस्थापक, टान गण्डकी तथा टान केन्द्रीय कार्यालयलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!