काठमाडौँ , २८ कार्तिक २०८२ः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ। परियारसहितका केही नेताहरू नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा जुटेका छन्।
नयाँ दल गठनका लागि हाल प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की नेतृ मानुषी भट्टराईलगायतसँग परामर्श भइरहेको परियारले जानकारी दिनुभयो।
नेता परियारका अनुसार नयाँ दलको नेतृत्वबारे भने अझै टुंगो लागेको छैन। उहाँले आफू, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी ‘यमी’ भट्टराईलगायत नेताहरू नयाँ राजनीतिक संरचनामा रहने तयारीमा रहेको बताउनुभयो।
यसअघि परियारले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग समेत विस्तृत छलफल गर्नुभएको थियो।
यसैबीच, डा. बाबुराम भट्टराईकी छोरी तथा राजनीतिक नेतृ मानुषी भट्टराईले पनि राजनीतिक पुनःगठनका लागि विभिन्न नेताहरूसँग निरन्तर छलफल भइरहेको पुष्टि गर्नुभएको छ।