ललितपुर, २८ कात्तिक २०८२।
लागूऔषध दुरुपयोग समाजका लागि क्यान्सरसरह भयावह समस्याका रूपमा फैलिँदै जाँदा यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा र गोदावरी नगरपालिका–३ को सहकार्यमा शुक्रबार आयोजित ‘लागूऔषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले पत्रकारितालाई प्रभावकारी र परिवर्तनमुखी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा गोदावरी–३ का वडा अध्यक्ष राज घिमिरेले लागूऔषधलाई समाजको प्रमुख शत्रु भन्दै यसको कारोबार र सेवन निरुत्साहित गर्न पत्रकारिताले ठूलो योगदान दिन सक्ने बताए। “विद्यालयभन्दा सुधार केन्द्र बढी खुल्ने अवस्था नआओस्,” उनले भने, “पत्रकारिताबाट जनचेतना अभिवृद्धि गर्दै समाजलाई सही दिशातर्फ लैजान आवश्यक छ।”

त्यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले लागूऔषध दुरुपयोगलाई समाजविरुद्धको अपराध का रूपमा व्याख्या गर्दै यसको नियन्त्रण हरेक नागरिकको सामाजिक दायित्व भएको उल्लेख गरे। उनका अनुसार परिवारमा अभिभावकले ध्यान नदिनु, गलत संगत, व्यस्त जीवनशैली र दिगो अभिभावकत्वको अभावले युवाहरू कुलतमा फस्ने गरेका छन्।
“लागूऔषधविरुद्धको अभियान घरघरबाट सुरु हुनुपर्छ,” उनले भने।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले युवापुस्ता लागूऔषधको चपेटामा जाँदा परिवारदेखि राष्ट्रसम्म ठूलो क्षति भइरहेको उल्लेख गर्दै, पत्रकारिताले राज्यलाई जिम्मेवार बनाउने र समाजलाई सचेत गर्ने अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले लागूऔषध नियन्त्रणका लागि सहयोग, प्रभावकारी सूचना प्रवाह र सामुदायिक नेतृत्व अत्यावश्यक रहेको निष्कर्ष निकाले।