चितवन, २६ मंसिर २०८२ः
रत्न काजि प्रजापति
नेपाल कुखुरा व्यवसायी मञ्चले विस्तृत अध्ययन तथा विश्लेषणपछि अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु. १९.१२ निर्धारण गरी सार्वजनिक गरेको छ। पछिल्लो समय बजार मूल्य क्रमशः बढ्दै लागत मूल्य नजिक पुगे पनि किसानले अझै स्थिर र दिगो मूल्य पाउन चुनौती झेल्नुपरेको मञ्चले जनाएको छ।

कुखुराको दाना, श्रम, औषधि–खोप, विद्युत तथा अन्य सामग्रीको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दो क्रममा छ। तर, बजार मूल्य लागतभन्दा तल रहने अवस्थाले किसानलाई निरन्तर मारमा पार्दै आएको छ। यस स्थितिलाई व्यवस्थापन गर्न मञ्चले २०८२ असोज २३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्रा.डा. रेवन्तकुमार भट्टराईको संयोजकत्वमा सहप्राध्यापक डा. अनिलकुमार तिवारी, डा. विष्णुहरी शर्मा, तथा उपप्राध्यापक अनन्त दाहाल सदस्यसचिव रहने गरी विशेषज्ञ समिति गठन गरेको थियो। समितिले सबै लागत तत्वहरूको विस्तृत अध्ययनपछि अण्डाको लागत मूल्य रु. १९.१२ प्रस्ताव गरेको हो।

यहि मंसिर २३ गते मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्वमा बसेको बैठकले उक्त मूल्य अनुमोदन गरेको थियो। बैठकमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, उद्योग वाणिज्य संघ, पोल्ट्री व्यवसायसँग सम्बन्धित संघसंस्था तथा विज्ञहरूको व्यापक उपस्थिती थियो।

उक्त कार्यक्रममा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. विजय कुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने, भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख तेजन्द्र प्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. सुविर सिंह, डा. रेवन्त कुमार भट्टराई, उपप्राध्यापक डा. अनिल तिवारी, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, चितवन च्याम्बर अफ कमर्शका कोषाध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने, नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष कृष्णहरि लोहनी, नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, मकवानपुर कुखुरा व्यवसायी संघका पूर्वअध्यक्ष राजु अधिकारी, गोकुलनाथ पौडेल, मञ्चका सचिव डा. विष्णुहरि शर्मा, कोषाध्यक्ष हरिकृष्ण खनाल, नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन चिरन्जीवि पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाई, सदस्य अमोद खनाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य तथा खैरहनी उद्योग संघका पूर्वअध्यक्ष युवराज पाठक, पशु सेवा कार्यालय चितवनका अधिकृत डा. दिपचन्द्र घिमिरे, पोल्ट्री व्यवसायी द्रोणप्रसाद लामिछाने र विर बहादुर कार्की लगायत मञ्चका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
मञ्चका अनुसार सार्वजनिक गरिएको लागत मूल्यले किसानको वास्तविक खर्चबारे सम्बन्धित सरकारी निकाय, संघसंस्था तथा उपभोक्तामाझ स्पष्ट सन्देश पुर्याउनेछ। हाल बढ्दो बजार मूल्य लागत नजिकिए पनि किसानले स्थायी रूपमा लागत बराबर वा माथिको मूल्य पाउने वातावरण निर्माण गर्न नीति तथा बजार व्यवस्थापनमा थप ध्यान आवश्यक रहेको मञ्चले जनाएको छ।