चितवन, २९ मंसिर २०८२ः
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले सौराहामा आयोजित कार्यक्रममा भावुकतासाथ बिदाइ गरेका छन्।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरूले माला, अबिर लगाएर फलफूल खुवाउँदै हात्तीलाई बिदाइ गरे। सात वर्षीया रुद्रकली र छ वर्षीया खगेन्द्रप्रसादलाई आज साँझ भैरहवा पुर्याइने र पुस २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाइने कार्यक्रम छ।
हात्तीसँगै रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ, खगेन्द्रका पचुखाँ चौधरी तथा पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाल पनि कतार जानेछन्। उनीहरूले त्यहाँका माउतेलाई हात्ती स्याहार–सुसारसम्बन्धी तालिम दिएर फर्कने निकुञ्जले जनाएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार, कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो। प्राविधिक अध्ययनपछि मात्रै हात्ती पठाउने निर्णय गरिएको डा. पन्तले जानकारी दिनुभयो।
हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरण चौधरीले जन्मदेखि स्याहारसुसार गरेका हात्ती विदेश पठाउँदा नरमाइलो महसुस भएको बताउनुभयो। माउते बुद्धिलाल श्रेष्ठले पनि चार वर्षदेखि स्याहार गर्दै आएका हात्ती बिदाइ गर्नुपर्दा दुःख लागेको बताए।
यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई गैँडा, घडियाल गोहीलगायत वन्यजन्तु उपहार दिँदै आएको भए पनि हात्ती उपहारस्वरूप पठाउन लागेको यो पहिलो पटक हो। विसं २०४४ मा स्थापना भएको खोरसोर केन्द्रमा हालसम्म ६८ हात्ती जन्मिएका छन्।