मन्थली (रामेछाप), २६ पुस २०८२ः
मन्थली नगरपालिकाको आयोजनामा आजदेखि दुईदिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला–२०८२ सुरु भएको छ।
मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेलले प्रदेश सरकारले कृषि उद्यम विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले मेलाले किसान तथा उद्यमीका उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगरप्रमुख लव श्रेष्ठले स्थानीय स्तरमा उत्पादन तथा प्रशोधन गरिएका कृषि बाली र वस्तुको प्रवर्द्धन, ज्ञान–सीप तथा प्रविधि आदान–प्रदान र उत्पादक, उपभोक्ता तथा व्यापारीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो।
नगरपालिका आर्थिक विकास समितिका संयोजक नवराज थापामगरका अनुसार प्रदर्शनीमा सहभागी कृषकलाई निःशुल्क स्टलसहित खान–बस्न र ढुवानी तथा यातायात खर्चको व्यवस्था गरिएको छ। मेलामा सहभागी उत्कृष्ट कृषक तथा उद्यमीलाई मूल्याङ्कनका आधारमा १० विधामा पुरस्कार प्रदान गरिनेछ।
प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले करिब १० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको बताउनुभयो।