काठमाडौं , ३० पुस २०८२ः
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। उद्योगले आईपीओ निष्कासन तथा बिक्रीसम्बन्धी कार्य व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक (Issue Manager) नियुक्त गरेको छ।
उद्योगले प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ९ हजार ५३१ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो, जसबाट कुल १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।

यस सम्बन्धमा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) यश पुरी र लक्ष्मी सनाराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालका अग्रणी माछा दाना उत्पादन गर्ने उद्योगहरूमध्ये एक हो। उद्योगले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तर, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका माछा दाना उत्पादन गर्दै आएको छ।
देशभर फैलिएको सशक्त वितरण सञ्जालमार्फत उद्योगले नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरूलाई आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ। साथै, प्राविधिक परामर्श तथा किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उद्योगले जनाएको छ।