उज्यालो नेपाल पार्टीका उम्मेदवार लामाको दाबी—पुराना दलसँग चुनावी टक्कर छैन
भक्तपुर, १० माघ २०८२ः
कृष्ण किसी
उज्यालो नेपाल पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार जितराम लामाले आफ्नो मुख्य प्रतिस्पर्धा नयाँ दलसँग मात्रै हुने दाबी गरेका छन्।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामाले भक्तपुर क्षेत्र नं. २ मा पुराना दल—नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नरहेको स्पष्ट पारे। उनले आफूले जित निकाल्नेमा ढुक्क रहेको दाबीसमेत गरे।
लामाका अनुसार आफ्नो मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो। “रास्वपा पनि एक हिसाबले अब पुरानै पार्टी भइसकेको छ,” उनले भने, “त्यस पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेपछि त्यो पार्टी पनि जनताबाट ‘टेस्टेड’ भइसकेको छ।”
उनले जनताले साँच्चिकै नयाँ विकल्प खोजिरहेको दाबी गर्दै त्यसको प्रतिनिधित्व उज्यालो नेपाल पार्टीले गर्ने बताए। भक्तपुर क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार राजीव खत्रीसँग प्रतिस्पर्धा भए पनि अन्ततः जित आफूले नै हासिल गर्ने लामाको दाबी छ।
भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, नेकपा (एमाले) बाट महेश बस्नेत, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायत उम्मेदवार मैदानमा छन्। यस क्षेत्रमा यी दलहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार रमेश वल्ल, जिल्ला संयोजक दुर्गाबहादुर घिमिरे तथा पार्टीका समानुपातिक उम्मेदवारहरू सीता पाण्डे र डा. जुनु कार्कीले प्रत्यक्षतर्फ चिम र समानुपातिकतर्फ बाँसुरी चुनाव चिह्नमा मतदान गरी पार्टीलाई विजयी बनाउन मतदातासँग आग्रह गरे।