भक्तपुर, २५ माघ २०८२ः
स्वतन्त्र पत्रकार संघ भक्तपुर जिल्ला शाखाले जिल्लामा निर्वाचनको तयारीबारे आइतबार साक्षात्कार कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगर सँग साक्षात्कार गरिएको थियो।
साक्षात्कारका क्रममा कार्यालय प्रमुख मगरले जिल्लाका सबै मतदानस्थल सुरक्षित रहेको जानकारी दिँदै ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई अनुरोध गरे।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् — भक्तपुर क्षेत्र नं. १ र भक्तपुर क्षेत्र नं. २। जिल्लाभर ७६ मतदानस्थलमा २३३ मतदान केन्द्र निर्धारण गरिएको छ। यस वर्ष अघिल्ला निर्वाचनको तुलनामा मतदाता संख्या बढेकाले मतदान केन्द्रको संख्या पनि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
क्षेत्रगत विवरण अनुसार भक्तपुर क्षेत्र नं. १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र तथा भक्तपुर क्षेत्र नं. २ मा ३९ मतदानस्थलमा ११४ मतदान केन्द्र निर्धारण गरिएको छ।
यस चुनावमा सुरक्षित, संवेदनशील तथा अति संवेदनशील मतदानस्थलहरू पहिचान गरी सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको कार्यालय प्रमुख मगरले बताए। आवश्यकता अनुसार एक मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र राखिने व्यवस्था गरिएको छ। एक मतदान केन्द्रमा करिब एक हजार मतदाता को आधारमा व्यवस्थापन गरिएको जानकारी पनि उनले दिए।
भक्तपुर जिल्लामा मतदानका लागि प्रायः विद्यालय, सार्वजनिक भवन तथा सरकारी हलहरू प्रयोग गरिने गरेको र केही स्थानमा छत नभएका वा अस्थायी कभर भएको स्थल पनि हुन सक्ने उनले उल्लेख गरे।
कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष मणिराम लामिछानेले गरेका थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण जनसञ्चार टेलिभिजन, जनसञ्चार एफएम तथा एबीसीडी खबर फेसबुक पेज मार्फत गरिएको थियो। कार्यक्रममा मिडिया पार्टनरका रूपमा नौलोआयाम डटकम अनलाइन, हाम्रो समाज साप्ताहिक लगायतका सञ्चारमाध्यम सहभागी रहेका थिए।