काठमाडौँ, १६ चैत ।
प्रतिबन्धित लागुऔषध कोकिन कारोबारमा संलग्न भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट कोकिन तस्करीमा संलग्न दुई जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत असाम घर भएकी ४६ वर्षीय भनल्वामी र २९ वर्षीय इस्थर ललिम्पुई रहेका छन् । भनल्वामी दिल्ली हुँदै अफ्रिकाको गिनी पुगेर लागुऔषध नेपाल ल्याएको खुलेको छ । विभिन्न देश घुमेपछि उनले दुबई हुँदै कोकिन ल्याएको अनुसन्धानका क्रममा खुलेको छ।
यसैगरी इस्थर ललिम्पुईले पश्चिम अफ्रिकाको बेनिमा भन्ने देशबाट कोकिन ल्याएको खुलेको छ । उनीहरु क्रमशः चैत १३ र १४ गते ठमेलबाट पक्राउ परेका हुन् । उनीहरु दुई जनाको साथबाट ७ किलो ८८७ ग्राम कोकिन बरामद भएको छ । विमानस्थलको कडा सुरक्षा जाँच छल्दै उनीहरु ठमेल पुगेको देखिएको छ ।