सुनिल उलक
बि.सं. १९५६ बैशाख ५ गते तनहुँको तत्कालिन पुलीमराङ गाउँ (ब्यास नगरपालिका वडा नं. ८)मा जन्मनुभएका बखानसिंह गुरुङ युवा अवस्थामा नेपाली सेनामा कप्तानका रुपमा गोरखामा कार्यरत थिए । देशमा राणाशासन थियो नै तर पनि रोजीरोटीका लागि सेनामा लागेका थिए । दुई छोरा धर्मध्वज र लालध्वजका पिता बखानसिंहको लागि २००७ सालको क्रान्ति अभिशाप बन्यो । बि.सं. २००७ साल माघ १ गते बन्दीपुर आक्रमणका लागि आएका कांग्रेसी युवाहरुलाई ब्यवधान गर्न सिपाहीहरुले बन्दीपुरमा कर्फ्यु लगाएका थिए। तर युवाहरुले अवज्ञा गर्दै जुलुस निकालेका थिए । राणाशाही मुर्दावादको नारा चर्किए पछि सिपाहीले जुलुसमा गोली चलाए जसले गर्दा केही प्रदर्शनकारीहरुको मृत्यु भयो । राणाका सिपाहीले धर्मध्वज गुरुङ माथि गोली प्रहार हुँदा उनको पनि मृत्यु भयो ।
यसरी जेठो छोराकै देहान्त भए पछि सेनाको जागिर छाडेर नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक आन्दोलनमा होमिए । बीपी कोइराला, सुवर्ण शमशेरहरुको नजिक भए । २००९ सालमा जागिरका सिलसिलामा गोरखा बसाइ रहेका वहाँ त्यहाँबाट साथीहरुसंग चितवन झरेका थिए । चितवन झरेपछि क्षेत्रपुरमा बसोबास गर्न थालेका बखानसिंह पछि परिवारका सबैलाई यतै बोलाएर हालको शारदानगरमा बस्न थालेका थिए । २०१२ सालमा वीरगञ्जमा भएको नेपाली कांग्रेसको अधिवेशनमा सहकारी खोल्ने निर्णय गरि सो जिम्मेदारी बखानसिंहलाई दिइएको थियो ।
राजनीतिमा लागेका बखानसिंह राप्ती दून आयोजनाले चितवनमा निशुल्क जग्गा वितरण गरेपछि धेरै परिवार पहाडबाट चितवन झरेका थिए । २०१३ सालमा चितवनमा आएको बाढीका कारण बिस्थापित भएकाहरुलाई पनि राप्ती दून आयोजनाले जग्गा वितरण गर्न थाल्यो । यहीँ समय सहकारीको अवधारणा ल्याइ बि.सं. २०१३ चैत २० गते बखानसिंह गुरुङको नेतृत्वमा ‘राप्ती दून सहकारी ऋण समिति’ सगठन भयो । नयाँ बस्तीमा नयाँ जमिन पाएका ६० जनासंग जनही १० रूपैयाँ उठाएर ६०० रूपैयाँ जम्मा गरे । नयाँ सदस्य बन्न चाहनेहरुसंग १ रुपैया प्रवेश शुल्क लिइयो । यसरी सदस्य संख्या बढाउन मद्दत मिल्यो । यसरी अर्थ संकलन भए पछि सानो छाप्रो बनाउन, कुटो कोदालो किन्न, गाई, भैसी तथा हलो किन्न सहकारीले पैसा दिन थाल्यो यसरी पुँजी नभएकालाई ऋण सहयोग गरि गरिवलाई उकास्ने काम गरे । बस्तीका मानिस बखानसिंहका कामबाट खुशी भएर सो बस्तीको नाम नै बखानपुर राखिदिए । साथै सो सहकारीको नाम पनि “बखानपुर सहकारी ऋण समिति” राखिदिए ।

यो त भयो नेपालको पहिलो सहकारीको स्थापना र बखानसिंह गुरुङको भूमिका । तर बखानसिंहको कथा भने यहीँ टुङ्गिदैन ।
बखानपुरमा समाजसेवीका रुपमा ख्याति कमाएका बखानसिंहलाई २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले चितवनबाट टिकट दिने तैयारी गरे तापनि अन्तमा विश्वबन्धु थापाले त्यहाँको टिकट लिइछाड्यो । जसले गर्दा प्रतिनिधिसभाका सदस्य बन्ने धोको धोको नै रह्यो । तर उनका ठूलो छोरा लालध्वजले भने गोरखा दक्षिणबाट नेपाली कांग्रेसको टिकट पाए । तर उनले चुनाव जित्न सकेनन् । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद भंग गरि दलहरु माथि प्रतिवन्ध समेत लगाउँदा नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका बखानसिंह पनि समातिए । यस पछि ३ महिना जेलमा परेका उनि जेलबाट छुटेपछि भागेर नरकटियागञ्ज पुगे ।
पञ्चायती सरकारले उनको सम्पत्ति सबै कब्जा गरेर उनको घरमा समेत आगजनी गरिदिएको थियो । आगजनीमा सबै गुमाएका उनको परिवारका सदस्य एकसरो कपडामा जंगलको बाटो भारत पुगे । २०१८ सालमा कास्कीको कोत्रेमा उनको ठूलो छोरा लालध्वज पनि मारिएका थिए । उनको बाकी परिवारको पनि बिचल्ली भएको थियोे ।
भारत निर्वासनमा रहेको ८ वर्ष पछि २०२५ सालमा माफी पाए पछि नेपाल फर्किए । २०३६ सालमा राजा विरेन्द्रबाट पञ्चायती ब्यबस्था वा बहुदलीय ब्यबस्था रोज्न जनमत गराउँदा उनि बहुदलीय ब्यबस्थाका पक्षमा लागेर २०३७ सालको चुनावमा भाग लिए । तर पछि केही कुरामा नेपाली कांग्रेस पार्टीका नेतृत्व पङ्तीका केहीसंग विवाद भए पछि कांग्रेस छोडेर पञ्चायती पार्टीमा सहभागी भई आमचुनावमा भाग लिए । यसरी २०३८ सालको चुनावमा राष्ट्रिय पञ्चायत सदस्य चुनिएर २०३८ असार २ गते सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा गठीत मन्त्रिमण्डलमा कानून तथा न्याय र भूमीसुधार मन्त्री समेत बन्न सफल भएका थिए । मन्त्री नियुक्त भएको केवल २२ दिनमा नै सूर्यबहादुर थापासंग मतभेद भएपछि २ राज्यमन्त्रि र ४ सहायक मन्त्रिका साथ श्री ५ समक्ष राजीनामा पेश गरेका थिए । जसले गर्दा सूर्यबहादुर थापाको नेतृत्वको मन्त्रिमण्डल भंग भइ लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रित्वमा गठीत मन्त्रिमण्डलमा कानून तथा न्याय मन्त्री बनेका थिए । पदमा रहँदा नै वहाँ अचानक अस्वस्थ्य भए पछि उपचारका लागि बैंकक समेत पुगे । तर बैंककको उपचारमा स्वस्थ्य भइ फर्केका वहाँ पुनः विमार भए । अन्तमा पाटन अस्पतालमा उपचारकै क्रममा २०४० माघ २५ गते बखानसिंहको देहावसान भयो ।