नवलपरासी । नेपाल ह्याचरी उद्योग संघले भारतबाट भइरहेको अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख अनुप श्रेष्ठलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष राजेन्द्र लामिछानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा खुला सीमा नाकाबाट चल्ला, कुखुरा, तयारी मासु तथा अण्डा अवैध रूपमा नेपाल भित्रिने क्रम बढेको उल्लेख गरिएको छ।
संघले नेपालको पोल्ट्री क्षेत्रमा करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको तथा यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५ लाख व्यक्तिलाई रोजगारी दिएको जनाएको छ। अवैध आयातका कारण स्वदेशी पोल्ट्री व्यवसाय जोखिममा परेको, राजस्व चुहावट हुने गरेको तथा भारतमा बेला–बेला देखिने बर्ड फ्लु संक्रमण नेपाल भित्रिने खतरा बढेको संघको भनाइ छ।
त्यस्तै, केही मालवाहक कन्टेनरमा अन्य वस्तु उल्लेख गरी भन्सार पास गरिए पनि जाँचका क्रममा कुखुराको मासु र माछा समेत भेटिने गरेको संघले जनाएको छ।
संघले सीमा नाकामा कडाइका साथ जाँच व्यवस्था गर्न तथा अवैध आयात नियन्त्रणमा प्रभावकारी कदम चाल्न प्रहरी प्रशासनसँग आग्रह गरेको छ।