“मध्यपुर थिमिको दीर्घकालीन बिकासको लागि बागमति प्रदेश सरकार सदैब तत्पर रहने छ।” नेता ढकाल
मध्यपुर थिमि, चैत्र २५, २०७९ः
मध्यपुर थिमि वडा न ५ ताहानानिमा रहेको सतलको आज बागमती प्रदेश सरकारका मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले उद्द्घाटन गर्नु भयो।
करिब १३ वर्ष अघि ताहानानी बाँसुरी खलको पहलमा तत्कालिन अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव डिपी ढकालले मन्त्रालयको २ लाख बजेट उपलब्ध गराएपछि शुरु भएको सत्तल निर्माण कार्य करिब ३० लाख लागत सहित निर्माण कार्य सम्पन्न भएको हो ।
उद्द्घाटन कार्यकमलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका नेता ढकालले इच्छाशक्ति र निरन्तरको सक्रियताले सत्तल निर्माण सम्पन्न गरेकोमा ताहनानि बासीलाई बधाई दिदै द्वन्दकालमा ताहानानिले आफुलाई आश्रय दिएको स्मरण गर्नु भयो। ताहानानि आफ्नो दोश्रो घर भएको बताऊदै नेता ढकालले ताहानानीको बिकासको लागि आफू सदैव तत्पर रहेको प्रतिवद्धता समेत ब्यक्त गरे। उनले बागमती प्रदेश सरकारका तर्फबाट मध्यपुर थि्मिको दीर्घकालीन बिकासको लागि महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो।
सोहि समारोहमा मध्यपुर थिमी नगरपालिकाका उप प्रमुख तथा नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले नगरपालिकाले दिएको रकम सदुपयोग गरी सत्तल निर्माण गरेकोमा खुशी ब्यक्त गर्दै ताहनानीको लागि आवश्यक बजेट बिनियोजन गर्न कन्जुस्याई नगर्ने बताए। उनले नगरपालिकाले नगरबासीको शिक्षा,स्वास्थ्यको लागि लगानी गरेको बताउदै नगरपालिका रोजगारी सिर्जनाको लागि प्राविधिक बिद्यालय र कलेज संचालन गर्ने बताए । त्यसैगरी आफूहरु निर्वाचित हुँदा ७ महिना अघि देखि तलब दिन नसकेको अवस्थामा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई हाल व्यवस्थित बनाएको र सेवा बिस्तार गरिएको उनले बताए । जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बीमा लागू गरिएको, पाँच जना सम्म परिवार संख्या भएका नगरवासीलाई स्वास्थ्य बीमा निशुल्क गरिएको, रेडक्रससंग सहकार्य गरी नगरवासीलाई निशुल्क रगत प्राप्तिको व्यवस्था मिलाइएको र वडाहरुमै नागरिकलाई निशुल्क प्रारम्भिक स्वास्थ्य परीक्षणको समेत प्रवन्ध मिलाइएको उनले प्रष्ट पारे ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप कुमार प्रजापति भिष्मले अहिले तीनै तहका सरकारमा आफ्नो पार्टी रहेकाले ताहानानि र मध्यपुर थिमिको बिकासमा कुनै कमी नहुन स्पष्ट पारे । बिगतमा स्थानीय सरकारले असहयोग गर्दा बजेट फिर्ता गर्नुपरेको जानकारी गराउदै उनले बिकास बिरोधीहरुलाई जनताले पाखा लगाउने टिप्पणी गरे । शिक्षा, स्वास्थ्य र रोजगारीको बिकासमा जोड दिदै उनले भौतिक बिकास निर्माणका साथै सामाजिक बिकासमा समेत सामुहिक पहलकदमी हुनुपर्ने बताए ।
उक्त अवसरमा बागमती प्रदेश सभाकी निवर्तमान सदस्य एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले सत्तल निर्माणका लागि आफूले प्रदेश सरकारबाट ल्याएको ५ लाख बजेत कोभिड महामारी र ्तत्कालिन स्थानीय जनप्रतिनिधिको असहयोगका कारण फिर्ता भएको जानकारी गराइन।
त्यसैगरी वडा न ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले आफूले वडाको बिकासको लागि सबैसंग मिलेर काम गर्ने बताए ।
स्थानीय अगुवा सामाजसेवी एवं सत्तल उपभोक्ता समितिका सस्थापक अध्यक्ष बाबुनाथ प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन सत्तल निर्माण उपभोक्ता समितिका वर्तमान अध्यक्ष बलराम प्रजापतिले गरेका थिए । स्वागत मन्तब्य एवं आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी केशरी श्रेष्ठ प्रजापतिले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव बालमुकुन्द प्रजापतिले गरेका थिए ।
सत्तल निर्माणका लागि शुरुमा अर्थ मन्त्रालयले २ लाख दिएको थियो भने मध्यपुर थिमी नगरपालिकाले ११ लाख ४९ हजार र नगर विकासले २ लाख उपलब्ध गराएको बताइएको छ । बाँकी सबै रकम श्रमदान र चन्दा सहयोग बाट संकलन गरी करिब ३० लाख लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष बलराम प्रजापतिले प्रष्ट पारेका छन् ।
कार्यक्रममा सत्तल बनाउन जग्गा दान गर्ने पुन कुमारी निजी भगवान गुठीका गुठियारहरु काजीबहादुर ,तेज बहादुर र प्रेम बहादुर प्रजापतिलाई मृत्यु पर्यन्त सम्मान गरिएको थियो । त्यसैगरी विशेष सम्मानबाट माइला प्रजापति सम्मानित भएका छन् भने कुशि इनाय ध्यो गुठी, तुलसी बहादुर प्रजापति, अष्ट बहादुर, गुणमाया प्रजापति,पूर्ण ज्योती शाक्य, तुलसी बहादुर प्याठ, रत्नमान प्रजापति लगायत २ दर्जन दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।
फोटो फिचर:

