मध्यपुर थिमि, चैत २६ गते,
केके मानन्धर
न टेलिफाेन गर्न मिल्छ ! न त ईन्टरनेट नै चल्छ, न माेबाइल नै राम्रोसँग टिप्छ !
बिस्का जात्राकाे लागि बिजुलीकाे खम्बामा झुन्डिएकाे असरल्ल अवस्थामा रहेकाे तार व्यवस्थापन गर्ने नाउँमा काटिदिंदा ईन्टरनेट र टेलिफाेन सेवा ४ दिनदेखि बन्द छ । तार व्यवस्थापन गर्ने निकायले खम्बामा तार टाँगेकाे निकायसँग समन्वय गर्न नसक्दा अत्यावश्यक (दैनिक जीवनमा नभइ नहुने) सेवा बन्द हुनु पुगेकाे हाे । त्यही भएर पनि मध्यपुर क्षेत्रका सेवाग्राही सञ्चार सेवाबाट बन्चित हुन बाध्य छन् ।
अहिले मध्यपुरकाे बालकुमारीदेखि चपाचाेसम्म सञ्चारकाे अत्यावश्यक माध्यम टेलिफोन र ईन्टरनेट सेवा बन्द छ । तार काटिएको चाैंथाे दिनसम्म पनि नबन्दा सुदूर गाउँकाे झल्काे देखिएकाे भन्दै सेवाग्राही रुष्ट बनेका छन् ।
‘कम्प्युटर ईन्जिनियर पढ्दै गरेकी मेरी छाेरीकाे सेकेन्ड टर्मिनल जाँच चलिरहेकाे छ । तर ईन्टरनेट सेवा बन्द हुँदा उनलाई साह्रै समस्या भइरहेकाे छ ।’ भिंछेँमूलाँ टाेल निवासी विरेन्द्र राजलवट श्रेष्ठले गुनासाे गरे । ईन्टरनेट सेवा प्रदायककाे अत्यावश्यक सेवासँगै नेपाल टेलिकमकाे माेबाइल डाटा पनि नचलेकाेप्रति उहाँकाे राेष थियाे ।
‘सेवा क्षणिक रूपमा बन्द हुनु स्वभाविक छ । तर हप्ताैंसम्म टेलिफोन र ईन्टरनेट सेवा बन्द हुनु लापरबाहीकाे पराकाष्ठा हाे ।’ सिवाटाेल वडा नं. चार निवासी अनिल श्रेष्ठकाे गुनासाे छ । तार काटिएर बन्द रहेकाे टेलिफोन र ईन्टरनेट सेवाले गर्दा बिस्का जात्राकाे लागि ईष्टमित्रलाई समेत निम्ताे दिन नपाएकाेप्रति श्रेष्ठले रिस पाेखे।
त्यस्तै, लाछिटाेल निवासी सुन्दर श्रेष्ठले वर्डलिङ्क नेकवर्ककाे बन्द रहेकाे ईन्टरनेट सेवा जात्रा पश्चात् अर्थात अागामी एक हप्तापछि मात्र सुचारु हुने माेबाइल सन्देश पाएका छन् । ईन्टरनेट सेवा प्रदायक संस्था डब्लू लिङ्कले एक दिन मात्र पनि महसुस तिर्न ढिला हुँदा सेवा नै बन्द गर्ने गरेकाे छ । तर हप्ताैंसम्म सेवा प्रदायक संस्थाले अत्यावश्यक ईन्टरनेट नदिंदा उपभोक्ताकाे अधिकार हनन भएकाे दाबी गर्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।
यता सञ्चार सेवा प्रदायक संस्था तार मर्मत गर्ने काम भइरहेकाे अवगत गराउँदै सेवा सुचारू गर्नबाट विमुख भइरहेका छन् । अहिले नेपाल टेलिकम, डब्लू लिङ्क, भायनेट लगायतका सम्पूर्ण सेवा ठप्प रहेकाे छ ।
