औषधि व्यवस्था विभागद्वारा ‘आईपोड–२०० डीटी’ औषधि फिर्ता गर्न निर्देशन

काठमाडौँ, २२ भाद्र २०८३/रत्न काजि प्रजापति ।

औषधि व्यवस्था विभागले बजारमा बिक्री वितरण भइरहेको आईपोड–२०० डीटी नामक औषधिको एक ब्याच तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा निर्धारित गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि फिर्ता गर्न निर्देशन दिएको हो। प्रयोगशाला परीक्षणका क्रममा उक्त औषधि घुलनशीलता (डिसोलुसन) सम्बन्धी परीक्षणमा निर्धारित मापदण्डअनुसार नरहेको पाइएको विभागले जनाएको छ।

विभागका अनुसार नोभा जेनेटिका प्रालिले उत्पादन गरेको आईपोड–२०० डीटी (सेफपोडोक्सिम प्रोक्सेटिल डिस्पर्सिबल ट्याब्लेट) को ब्याच नम्बर आईपीडी २–१३३ रहेको छ। यसको उत्पादन मिति नोभेम्बर २०२५ र म्याद सकिने मिति अप्रिल २०२७ रहेको विभागले जनाएको छ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सम्बन्धित उद्योग तथा औषधि व्यवसायीलाई उक्त ब्याचको औषधि बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। साथै, विभागले उक्त ब्याचको औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गरेको छ। बजारमा रहेको औषधि तत्काल फिर्ता गरी त्यसको विवरण विभागमा पेश गर्नसमेत निर्देशन दिइएको छ।

आईपोड–२०० डीटीमा सेफपोडोक्सिम २०० मिलिग्राम रहेको छ। यो ब्याक्टेरियाबाट हुने विभिन्न संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!