काठमाडौं/ रत्न काजि प्रजापति ।
काठमाडौं उपत्यकामा मासु पसल सञ्चालन गर्ने व्यवसायीले अब कानुनी मापदण्ड पूरा गरी अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने भएको छ। नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा २०८३ मंसिर १ गतेदेखि पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लागू गर्ने निर्णय गरेसँगै मासु व्यवसाय नियमनमा कडाइ हुने भएको हो।
काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सूचना जारी गर्दै मासु पसल सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थालाई तोकिएको मापदण्ड पूरा गरी मंसिर १ गतेभित्र इजाजतपत्र लिन आग्रह गरेको छ। पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७ मा तोकिएका मापदण्ड पूरा गरेपछि मात्र मासु बिक्रीका लागि अनुमति प्राप्त हुने महानगरपालिकाले जनाएको छ।
इजाजतबिना मासु पसल सञ्चालन गरे १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। महानगरपालिकाले उपभोक्ताको स्वास्थ्य र मासुको स्वच्छता तथा गुणस्तरलाई ध्यानमा राख्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न लागेको जनाएको छ।
विभागीय प्रमुख डा. अबधेश झाद्वारा जारी सूचनामा सम्बन्धित व्यवसायीलाई समयमै आवश्यक प्रक्रिया पूरा गरी इजाजत लिन आग्रह गरिएको छ। नयाँ व्यवस्था लागू भएपछि काठमाडौंमा मापदण्ड नपुगेका तथा इजाजतबिना सञ्चालित मासु पसलमाथि अनुगमन र कारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
