बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र : मुख्यमन्त्री किरण थापा मगर

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रदेश सरकारले तीव्रता दिएको बताएका छन्।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा स्थानीय तह बाढीपहिरोबाट बढी प्रभावित भएको जानकारी दिए।

उनका अनुसार भदौ १० गते बिहान ८ः४६ बजे रसुवाको लेन्दे आसपास हिमनदी फुटेर आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको हो। बाढीबाट गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बढी प्रभावित भएका छन्।

विशेषगरी गोसाइँकुण्ड र उत्तरगया क्षेत्रमा स्वास्थ्य चौकी, अस्पताल तथा स्थानीय तहका कार्यालयमा क्षति पुगेको छ भने जनप्रतिनिधि तथा सर्वसाधारणले समेत ज्यान गुमाएका छन्।

त्यस्तै, नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि बाढीपहिरोबाट ठूलो क्षति पुगेको मुख्यमन्त्री थापाले बताए।

बाढीपहिरोबाट सात हजारभन्दा बढी मानिस प्रभावित भएको र ६६२ मेगावाटभन्दा बढी क्षमताका छवटा जलविद्युत् आयोजना बन्द तथा क्षतिग्रस्त भएको उनले जानकारी दिए। विपत्तिबाट ठूलो मात्रामा भौतिक क्षति भएको पनि उनले बताए।

विपत्तिपछि तत्काल उद्धारमा परिचालन

मुख्यमन्त्री थापाका अनुसार विपत्ति आए लगत्तै भदौ १० गते बिहान ११ बजे प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार तथा राहतका लागि टोली परिचालन गरिएको थियो।

मुख्यमन्त्री थापा स्वयं सोही दिन अपराह्न ४ बजे नुवाकोटको बट्टार पुगेका थिए। चारवटा प्रादेशिक अस्पतालबाट १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरी बट्टारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए।

घरबारविहीन भएका तथा आफन्त गुमाएका पीडितका लागि तत्काल चारवटा अस्थायी सेल्टर निर्माण गरी खाना र बसोबासको व्यवस्था गरिएको उनले जानकारी दिए।

यस्तै, बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका एक हजार पाँच सयभन्दा बढी यात्रु, भक्तजन तथा श्रमिकलाई प्रदेश सरकारको समन्वयमा बसमार्फत निःशुल्क काठमाडौँ ल्याउने व्यवस्था गरिएको मुख्यमन्त्री थापाले बताए।

सडक सञ्चालनका लागि मेसिन परिचालन

बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिन तथा जनशक्ति परिचालन गरिएको मुख्यमन्त्री थापाले जानकारी दिए। अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन वैकल्पिक मार्ग निर्माण तथा सडक खुलाउने काम भइरहेको उनले बताए।

प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रभावित जिल्लालाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको पनि मुख्यमन्त्री थापाले जानकारी दिए।

निर्णयअनुसार रसुवालाई एक करोड रुपैयाँ, नुवाकोटलाई एक करोड रुपैयाँ तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइनेछ। उक्त रकम सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिने उनले बताए।

बाढीपहिरोमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन तथा अन्त्येष्टिका लागि प्रतिशव २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको मुख्यमन्त्री थापाले जानकारी दिए।

‘आरोप–प्रत्यारोप गर्ने समय होइन’

मुख्यमन्त्री थापाले बाढीपहिरोबाट सिर्जित विपत्तिको सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले विपत्तिको समयमा राजनीतिक आरोप–प्रत्यारोपमा भन्दा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। ‘अहिले आरोप–प्रत्यारोप गर्ने समय होइन, तीन वटै सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार पीडितको घाउमा मलहम लगाउनुपर्छ,’ मुख्यमन्त्री थापाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!