काठमाडौं, २२ भाद्र २०८३/रत्न काजि प्रजापति ।
औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः जिम्मेवारी पाएका भरत भट्टराईलाई नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले विभागमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
संघका काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र महासचिव शुभ मान श्रेष्ठ सुमन सहितको टोलीले सोमबार विभागमा पुगेर महानिर्देशक भट्टराईलाई भेटी बधाई दिएको हो।

भेटका क्रममा संघका महासचिब सुमनले भट्टराईको पुनः नेतृत्वमा विभागको नियमन प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरेका थिए। औषधि व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्या, औषधि बजारको व्यवस्थापन तथा विभाग र व्यवसायीबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए।
भेटका क्रममा बधाई ग्रहण गर्दै महानिर्देशक भट्टराईले विभागको कामकारबाहीमा पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। उनले औषधि क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा व्यवसायीसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरेका थिए। महानिर्देशक भट्टराईले विभागको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउँदै नियमनका क्रममा देखिएका समस्यालाई समाधान गर्ने दिशामा काम गर्ने संकेत समेत दिएका छन्।
संघले औषधिको गुणस्तर, सुरक्षा र सहज उपलब्धतालाई सुनिश्चित गर्न नियामक निकाय र व्यवसायीबीच विश्वासपूर्ण सम्बन्ध तथा नियमित संवाद आवश्यक रहेको जनाएको छ। विभागले लिने नीति तथा निर्णयहरू कार्यान्वयनयोग्य र व्यवसायमैत्री बनाउन सरोकारवालासँगको छलफललाई निरन्तरता दिनुपर्ने संघको धारणा छ।
भट्टराईले यसअघि पनि औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। विभागको नेतृत्वमा उनको पुनरागमनसँगै औषधि नियमन, बजार अनुगमन, व्यवसायीका समस्या समाधान तथा औषधिको गुणस्तर र उपलब्धतासँग सम्बन्धित विषयमा सुधारको अपेक्षा गरिएको छ।
तेस्रो पटक विभागको नेतृत्व सम्हालिरहेका भट्टराईका लागि पारदर्शिता, सुशासन र प्रभावकारी नियमन आगामी कार्यकालका प्रमुख चुनौती र प्राथमिकताका विषय बन्ने देखिन्छ।
