तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणलाई नेपाल औषधि व्यवसायी संघ काठमाडौँका महासचिव सुमनको खुल्ला पत्र

बुटवल । नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखा महासचिव शुभ मान श्रेष्ठ सुमनले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सुलभ फार्मेसी तथा जनस्वास्थ्य सम्बन्धी अभियानमा निजी औषधि व्यवसायीलाई समेत साझेदार बनाएर अघि बढ्न आग्रह गरेको छ।

महासचिव शुभ मान श्रेष्ठ सुमनले तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणलाई सम्बोधन गर्दै लेखेको ्खुल्लापत्र मार्फत जनस्वास्थ्यको साझा उद्देश्य पूरा गर्न संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्।

पत्रमा औषधि व्यवसायीलाई केवल व्यापारिक वर्गका रूपमा नभई जनस्वास्थ्य सेवाका अग्रपंक्तिका साझेदारका रूपमा बुझ्न आग्रह गरिएको छ। देशका दुर्गम क्षेत्रसम्म औषधि पुर्‍याउने, आपत्कालीन अवस्थामा सेवा दिने तथा नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न आवश्यक सल्लाह र सहयोग गर्ने कार्यमा निजी औषधि व्यवसायीको योगदान रहेको उहाको भनाइ छ।

औषधिको मूल्य जनताको संवेदनशील विषय भएकाले सस्तो औषधि उपलब्ध गराउने उद्देश्यप्रति आफूहरूको समर्थन रहेको स्पष्ट पार्दै सुमनले यद्यपि औषधिको मूल्य निर्धारणलाई खुद्रा फार्मेसीको नाफासँग मात्र जोडेर हेर्न नहुने भन्दै उत्पादन, आयात, कर, दर्ता, ढुवानी, भण्डारण, थोक तथा खुद्रा वितरणसम्मको सम्पूर्ण आपूर्ति शृङ्खलाको वस्तुगत अध्ययन गर्नुपर्नेमा जोड दिएको छ।

पत्रमा भनिएको छ, “सुलभ फार्मेसीको सफलता निजी फार्मेसीको असफलतामा निर्भर हुनु हुँदैन।” नगरपालिका र निजी क्षेत्रबीच प्रतिस्पर्धाभन्दा पनि तिलोत्तमाका नागरिकलाई सुरक्षित, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ औषधि उपलब्ध गराउने विषयमा सहकार्य हुनुपर्ने उनको धारणा छ।

सहकार्य संयन्त्र गठनको प्रस्ताव

महासचिब सुमनले तिलोत्तमा नगरपालिका, औषधि व्यवसायी संघ, स्थानीय औषधि व्यवसायी, स्वास्थ्यकर्मी, औषधि व्यवस्था विभाग तथा अन्य सम्बन्धित सरोकारवालाको सहभागितामा ‘तिलोत्तमा औषधि तथा जनस्वास्थ्य सहकार्य संयन्त्र’ गठन गर्न प्रस्ताव गरेको छ।

उक्त संयन्त्र मार्फत तिलोत्तमामा औषधिको वास्तविक मूल्य संरचना, अत्यावश्यक औषधिको उपलब्धता, गुणस्तर तथा सुरक्षित भण्डारण, फार्मेसीमा दक्ष जनशक्तिको भूमिका, विपन्न तथा ज्येष्ठ नागरिकका लागि लक्षित सहुलियत र नगरपालिका तथा निजी फार्मेसी बीचको सहकार्य लगायतका विषयमा अध्ययन गर्नुपर्ने सुझाव छ।

त्यस्तै, औषधि आपूर्तिको निरन्तरता, जनचेतना, आपत्कालीन औषधि आपूर्ति प्रणाली तथा औषधि क्षेत्रमा स्थानीय तहले गर्न सक्ने दीर्घकालीन सुधारका विषयमा समेत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्न ्समेत महासचिब सुमनले आग्रह गरेको छ।

औषधिको मूल्य घटाउन सकिने सम्भावना, अनावश्यक लागत न्यूनीकरण तथा विपन्न नागरिकलाई लक्षित सहुलियतका कार्यक्रमहरूमा व्यवसायी समुदाय सहकार्य गर्न तयार रहेको उनले ्जनाए।

पत्रमा नगरपालिकाको जनमुखी अभियानको विरोध नभई त्यसलाई अझ प्रभावकारी बनाउन आफूहरू सहयात्री बन्न चाहेको उल्लेख गर्दै औषधि व्यवसायीको पेशागत मर्यादा र आत्मसम्मानको सम्मान गर्दै उनीहरूलाई समस्याको हिस्सा नभई समाधानको साझेदारका रूपमा हेरिनुपर्ने अपेक्षा व्यक्त गरिएको छ।

महासचिब सुमनले जनस्वास्थ्यको विषयमा सबै सरोकारवालाको गन्तव्य एउटै हुनुपर्ने उल्लेख गर्दै “स्वस्थ जनता, सुरक्षित औषधि, सम्मानित पेशा, जिम्मेवार सरकार र समुन्नत तिलोत्तमा” भन्ने साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!