सुनिल उलक
बाबाले सबै काम अन्माएर
ज्यासल पन्साइसके
आरनका रक्ताम्य कोइलाले
काँचुली फेरीसके
तर पनि तिमी आएनौ
दिनभरका कामले थाकेका
बाबाका हातहरू अत्तालिसके
दिनभर बिटुलिएका हाम्रा पाइलाले
जोगीे झै खरानी घसिसके
तर पनि तिमी आएनौ
भोकले रन्थनिएका
हाम्रा ओठहरू सुकिसके
जाडोले कटकटिएका
दाँतहरू बल्झिसके
तर पनि तिमी आएनौ
तातो गाँस पनि सेलाइसके
सुखका सपना पनि बिलाइसके
तिमी आउने बाटो हेर्दा हेर्दै
ति बाटोका न्यानो राप पनि बिलाइसके
तर पनि तिमी आएनौ
आमा !!! तिमी किन आएनौ
आमा !!! तिमी किन आएनौ