भक्तपुर, २७ जेठ, २०८०ः
रत्न काजि प्रजापति
भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ खेलमा स्वर्ण पदक जित्न सफल खेलाडिहरुलाई बधाई तथा संघको २०८० बैशाख १६ गतेको अधिबेशन बाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ।
हालै सम्पन्न बागमति प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ खेल तर्फ स्वर्ण पदक जित्न सफल अस्मिता दुवाल, भावना भण्डारी र विजय बाटा तथा प्रशिक्षक केदार तुईतुईलाई कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मान गर्नु भयो। साथै भक्तपुर जिल्ला बक्सिङ संघको २०८० बैशाख १६ गतेको अधिबेशनबाट निर्वाचित अध्यक्ष राम कृष्ण प्रजापति,उपाध्यक्ष राजन कुम्पाख र सुरोज ग्वाछ्वा, सचिब साजन लघु, कोषाध्यक्ष लक्ष्मि प्रसाद चवाल लगायत लाई पनि प्रमुख अतिथि प्रजापतिले सम्मान गर्नु भयो।
कार्यक्रमलाई सम्बोघन गर्दै प्रमुख अतिथि प्रजापतिले खेलाडी देशका सम्पति भएकोले यसको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुको जीवन यापन कठिन भएकोले खेलकुदको प्रमाणपत्र पनि शैक्षिक योग्यता सरह मान्यता पाउनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले अरु नगरपालिकाभन्दा खेललाई महत्व दिँदै लगानी े बढाई हजारौंको संख्यामा विद्यार्थी सहभागी हुने गरी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता र अन्तर नगर प्रतियोगिता प्रत्येक बर्ष गरिरहेको साथै ६ वटा खेलको प्रशिक्षणलाई पनि निरन्तर दिई आएको बताउनुभयो । उहाँले देश निर्माणमा युवाहरुको भूमिका महत्वपूण हुने बताउँदै देशमा भएका ४२ प्रतिशत युवाहरुले बृद्ध नेताहरु हुँदैन युवाहरुलाई नेतृत्व दिनु पर्छ भनि सामाजिक सञ्जालमा आएको भरमा मत दिएर देश अगाडि नबढ्ने बताउँदै राम्रो र नयाँ विचार बोकेकाहरु युवा हुने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोघन गर्दै भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले बक्सिङ संघको योगदानको कदर गर्दै खेलकुदलाई जीवनको अभिन्न अंगको रुपमा बिकास गर्नुपर्र्ने बताउनुभयो ।
कार्यक्रमलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका बागमति प्रदेशका प्रतिनिधि मान बहादुर भण्डारी ,प्रदेश खेलकुद परिषद बागमति प्रदेशका धनकुमार मैनालीले पनि सम्बोघन गर्नु भएको थियो।