हेटौँडा, असोज १४, २०८०ः
कृष्ण किसि
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको प्रशासन क्षेत्रमा सरुवा बढुवामा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा हुन दौडधुपमा लागेका कर्मचारी आर्थिक लेनदेनमा समेत मुछिन थालेको पाइएको छ । कर्मचारीले आकर्षक स्थानमा सरुवा गराउन तेस्रो पक्ष (बिचौलिया) लाई प्रयोग गर्ने र सचिव स्तरमा नै सो पक्षले पैसाको लेनदेन गर्न थालेको स्रोतको दाबी छ । कर्मचारी सरुवामा प्रत्यक्ष रूपमा वन तथा वातावरण मन्त्रालयका सचिव तथा मुख्य मन्त्रालयका सचिवको ठाडो निर्देशनमा आर्थिक चलखेलका साथ कर्मचारी सरुवा भएको खुल्न आएको हो । वन तथा वातावरण मन्त्रीलाई कुनै जानकारी नै नगराई आर्थिक चलखेलका साथ सचिवहरूको मिलेमतोमा कर्मचारीहरू सरुवा भई रहेको प्रदेश स्रोतले जानकारी दिएको छ ।
पछिल्ला दिनमा मन्त्रालय सचिवहरू र बिचौलियाको घेराबन्दीमा पर्न थालेपछि आर्थिक चलखेल नगर्ने कर्मचारी तथा मन्त्रीलाई त्यस्तो घेराबन्दी तोड्न निकै सकस परेको छ । यस्तो क्रमले मन्त्रालय र त्यहाँका उच्च अधिकारीहरूको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको डिएफओहरु सरुवा गराउँदा वन मन्त्री सँग समन्वय नगरी वन सचिव यज्ञनाथ दाहाल र मुख्य मन्त्रालयको प्रमुख सचिव घनश्याम उपाध्यायले आर्थिक चलखेल गरी ठाडो हस्तक्षेपमा कर्मचारी सरुवा गरेको बागमती प्रदेशका कर्मचारीहरूले नै बताए । आर्थिक चलखेल तथा कर्मचारी सरुवामा सबैभन्दा बढी दौडधुप प्रशासकीय अधिकृत र उनीहरूलाई परिचालन गर्ने सचिव तथा मन्त्रालयका सचिवहरूको नजिकका आफन्त रहेको स्रोतले जनाएको छ । वन सचिव र मुख्य मन्त्रालयका प्रमुख सचिवको प्रत्यक्ष हस्तक्षेपमा आर्थिक चलखेलका साथ कर्मचारी सरुवा हुँदा समेत वन मन्त्री मसिना खड्का भण्डारी भने बेखवर रहेको खुल्न आएको छ ।
मन्त्रीलाई पन्छाउँदै अनियमित तवरबाट आर्थिक चलखेल गर्दै कर्मचारी सरुवा गर्नु अवैधानिक भएको मन्त्रालय स्रोतले जनाएको छ । बागमती प्रदेशका अन्य मन्त्रालयमा पनि कर्मचारी सरुवा गर्ने समय भएको छ । यसै अनुरूप बागमती प्रदेशका विभिन्न मन्त्रालयमा हाल कर्मचारी सरुवा गराउन आर्थिक चलखेल हुँदै आएको खुल्न आएको छ । कर्मचारी सरुवा गर्न अधिकृतहरूको सम्बन्धित मन्त्रालयले टिप्पणी उठाउने र मुख्य मन्त्रालयका सचिवले तोक लगाई सरुवा गर्ने प्रचलन रहेको छ । अधिकृत भन्दा तलका कर्मचारीहरू सचिवको नै तोक आदेशमा सरुवा हुँदै आएका छन् ।…