सर्वोपयोगी गौमाता : कल्याण पन्त

२०७३ कातिक १७ गते बुधबार तृतीया तिथि

पौराणिक कालदेखि नै गाईलाई विभिन्न कृत्यहरुमा प्रयोग गर्दैै आइएको छ । यसको महत्त्वलाई प्राचीन कालका ऋषि, महर्षिदेखि आधुनिक वैज्ञानिकहरुले स्वीकार गरिसकेका छन् । यसको महिमा बुझेर नै यसलाई गौमाताको उपमा दिइएको छ । माताको अर्थ हुन्छ, जन्म दिने, लालनपालन गर्ने स्त्री । शब्दकोशमा उल्लेख गरिए अनुसार माताको अर्थ यत्तिमै सीमित छैन । कुनै पूज्य नारी, राष्ट्रिय विभूति, देवी आदि पनि माता हुन् । यसबाहेक जन्मभूमि र गाईलाई पनि क्रमशः मातृभूमि र गौमाताको रुपमा पुकारिएको छ । माता लालनपालनको प्रतीक हुन् । मातृभूमि जन्मपछि धरातल टेकाउने आधार स्थल हो ।

ब्रम्हवैवर्त पुराण अनुसार सनातन आर्य संस्कृतिमा १६ प्रकारका माता छन् । ती हुन्ः गुरुपत्नी, राजपत्नी, देवपत्नी, छोराबुहारी, ठूली या सानी आमा, फुपू, शिष्य पत्नी, मित्रपत्नी, माइजू, सौतेनी मुमा, भाइबुहारी, सासू, बहिनी, छोरी, जन्म दिने आमा र इष्ट देवी । यी सबैले बच्चादेखि पालन पोषण गर्छन, वात्सल्यता देखाउँछन्, रक्षा गर्छन् । यो मानव जीवनको सर्वोपयोगी जनावर हो । यसको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व अपार छ ।

धार्मिक पक्षः
कृष्ण लिलामा गोपिनी, ग्वाला, गोपालका बारेमा धेरै वणर्न गरिएको छ । ग्वाला (दूध बोक्ने), गोपाल (गाई पाल्ने), गोपिनी (गाईको सुसार गर्ने) आदि जे भने पनि गाईसँग सम्बन्धित शब्द हुन् । द्वापर युगदेखि नै कृष्णले गाईको दूध खाने, दही चोर्ने प्रसङ्ग रोचक ढङ्गले पुराणहरुमा गरिएको छ । यम पञ्चकको औंसीमा बिहान गाई पूजा गरिन्छ । यसलाई गाई तिहार भनिन्छ । गाईबाट दूध, घिऊ, दही, गोवर पञ्चगव्यका रुपमा लिइन्छ । पञ्चामृत बनाउँदा पनि यिनै पदार्थ दूध, दही, घिऊ आवश्यक पर्दछ । लक्ष्मीयाँ लोक पालर्ना धेनुरुपेण संस्थिता …मन्त्रले गाई पूजा गरेर माला लगाई, खान दिएर रातो, सेतो, पहेंलो छाप लगाई दिइन्छ । बृहत्पराशर स्मृतिमा उल्लेख गरिए अनुसार गाईको सीङ्गको फेदमा ब्रम्हा, मध्य भागमा केशव, अग्र भागमा शंकरको वास हुन्छ । सिङ्गमै यिनै त्रिदेव निवास भएको हुँदा गाईपूजा गरिन्छ । महाभारत अनुसार गाईको दूध, दही, र घिउ बिना कुनै पनि यज्ञ सम्पन्न हुन सक्दैन । त्यसैले यज्ञको मूल स्रोत अर्थात् गाईलाई मानिएको छ ।

पुराणमा गाईलाई सम्बोधन गर्दै भनिएको छ, “हे गाई । तिमी दुब्लो मनुष्यलाई हृष्टपुष्ट गरिदिन्छ्यौं । दूध, दहीको सेवनबाट कुरुपलाई सुन्दर बनाइदिन्छ्यौ । हे कल्याणकारी वाणी भएकी गाई आफ्नो आवाजले बाच्छोबाच्छीबाट घरलाई रमणीय पारिदिन्छ्यौ ।” अझ भनिएको छ, “जहाँ गाईहरु प्रसन्न हुन्छन्, त्यहाँ सम्पत्तिहरु आफसेआफ प्राप्त हुन आउँछन् । जहाँ गाईहरु दुःखी रहन्छन्, त्यहाँ सम्पत्ति लुप्त हुन्छन् ।” गाईको महत्त्वलाई प्रस्टाउँदै ब्रम्हावैवर्त पुराणले भनेको छ, गाईको शरीरमा सम्पूणर् देवताहरुले निवास गर्दछन् । यिनका खुट्टामा सबै तीर्थ हुन्छ, गुह्य भागमा लक्ष्मी सदा रहन्छिन् । गाईको खुट्टाको माटो जुन मनुष्यले तिलक लगाउँछ उसले सम्पूणर् तीर्थ जलमा स्नान गरेको फल प्राप्त हुने र पाइला पाइलामा विजय प्राप्त गर्ने कुराको उल्लेख छ । त्यसरी नै जहाँ गाई रहन्छिन्, त्यो ठाउँ पवित्र मानिन्छ । त्यस्तो भूमिमा जसको मृत्यु हुन्छ, त्यसको मुक्ति हुन्छ ।

आयुर्वेदिक पक्षः
आयुर्वेदाचार्यका अनुसार गाईको मूत्रमा आयुर्वेदिक गुण हुन्छ । यसमा कटु तिक्त कषाय, तीक्ष्ण, उष्ण, क्षार अग्निदीपक, मस्तिष्कका लागि हितकारक, पित्तकारक, खोकी र वातनासक हुन्छ । शूल, पेटको रोगी, लुतो, आँखाको रोग, मुखरोग, वात, मूत्राशय, खोकी, सुन्निने र पाण्डु रोगको नष्ट गर्ने क्षमता भएको प्रमाणित भएको छ । रोग निवारणका लागि गोमूत्र पिउने देखि लिएर मालिस गर्ने, पट्टि सेक्ने, एनिमा दिने कार्य गरिन्छ । कलेजो, हर्सा, पेटको रोग, मोटोपन, चर्मरोग, पिनास, हृदयरोग पेट फुल्ने, कलेजो या फियो फुल्ने आदिमा गोमूत्रको सेवन अचूक औषधि मानिन्छ । यसमा लुँडेकाढामा बराबर मात्रमा गोमूत्र मिलाएर पिउनाले चाँडै आराम मिल्दछ । त्यसरी नै अङ्ग दुखेको वा फुलेको अवस्थामा गोमूत्रले सेक्ने गरेमा लाभ दिन्छ । खटिरमा पनि गोमूत्र साझबिहान दुई समय लगाउँदा यसले लाभ पुर्‍याउँछ । त्यसरी प्रतिदिन २५ मिलिलिटर गोमूत्र छानेर बिहान बेलुकी सेवन गर्ने हो कब्जियत हट्छ । अझ मूल कुरो त बिहान र साँझमा दुईदुई चम्चाको दरले गोमूत्र पिउँदा कोलस्टेरोल घट्दछ । भगवान् रामचन्द्रले पनि १४ वर्ष वनवास जादाँ गोमूत्रको सेवन गरेको कुरा शास्त्रमा उल्लेख छ । कान दुख्दा कानमा केही थोपा गहुँत हाल्नाले कानको पीडाबाट मुक्ति मिल्दछ ।
गाईको गोबरको पनि उत्तिकै महत्त्व रहेको छ । यो पोषक, शोधक, दुर्गन्धनाशक, शोषक, बलबद्र्धक र कान्तिदायक हुन्छ । रसियन वैज्ञानिक अनुसार आणविक विकिरणका हानिकारक किरण गाईको गोबरले छेक्न पूणर् सक्षम छ । गाईको गोबरमा हैजाका किटाणु मार्ने शक्ति छ भन्ने कुरा प्रयोगद्वारा सिद्ध भइसकेको छ । औलोका किटाणु पनि गोबरको गन्ध र यसमा पाइने रसायनले नष्ट गर्दछ । लुतो, दाद र अन्य चर्मरोगको लागि पनि गाईको गोबर उपयोगी हुन्छ । त्यसरी नै आगोले पोलेको ठाउँमा ताजा गोबरलाई केही बेर लगाएर सफा पानीले धुने गरेमा लाभ पुग्दछ । सर्प, विच्छि वा अन्य जीवले डसेमा या टोकेमा गोबरको प्रयोगले विष नष्ट हुन्छ ।

वैज्ञानिक पक्षः
प्राचीन कालदेखि नै गाईलाई नै वैज्ञानिक तवरले अध्ययन गरिएको छ । कसैको स्वभावलाई गाईसँग तुलना गरिन्छ । गौप्राणी, सुधो आदि शान्त र सरल जनाउछ । गाईको घिऊले होम, यज्ञादिमा हवन गर्दा वर्षा गराउन मद्धत गर्दछ । यसबाट निस्कने धुवाँले वाष्पिकरण गराउँदछ र वर्षा हुन्छ । गोबरले लिपेको स्थान पवित्र हुन्छ किनकि गोबरमा कारबोलिक एसिड पाइन्छ । यसले किटाणु नष्ट गर्दछ । मूत्रमा फस्फेट, पोटास, लवण, नाइटोजन, यूरिया, युरिक एसिड रहेको हुन्छ । यस बाहेक क्याल्सियम, म्याग्नेसियम, क्लोराइड, युरिया, सल्फेट, एमोनिया, क्रियटिनिन आदि जस्ता पोषक क्षार रहेको हुन्छ । यसलाई सेवन गर्दा पेटमा भएका रोगहरु निर्मूल हुन्छन् । बिरामी पर्दा समेत गाईको दूध पिउने सल्लाह दिइन्छ । यसमा तुरुन्त शक्ति प्रदान गर्ने र ल्याक्टोजजस्तो पदार्थ पाइने हुँदा यसो भनिएको हो ।

वैज्ञानिक मत अनुसार पाप भन्नाले खराव कर्म वा रोग भन्ने बुझिन्छ । गाई यस्तो जनावर हो जुन जन्मदेखि मृत्युसम्म हरेक काममा प्रयोगमा आउँछ । गोहत्या गर्नु पाप लाग्छ भन्नुको अर्थ औषधिजन्य गहुँत, गोबर, दूध र दही जस्ता अमृततत्वको समाप्ती हो । यिनै तत्त्वबाट पाइने स्फूर्ति, बल र आफ्नै शरीरको नासको संकेत हो । अति महत्त्व भएको गाईलाई हाम्रा धर्मग्रन्थले यस्ता अमृततत्वको संरक्षण गर्नुपर्दछ भन्ने मान्यता राखेको पाइन्छ । पञ्चगव्य भन्नाले दूध, दही, घिऊ, आदि मिलाएर बनाएको मिश्रण हो । यो परम पवित्र, पथ्य रसायन हो । यसले बल, बुद्धि र आनन्द पनि दिन्छ । यसको सेवनले विभिन्न रोग हर्दछ । पञ्चगव्य नखाइकन यज्ञ गराउन पनि हुँदैन भनिएको छ । यसले गाईकै महत्त्वलाई प्रकाश पार्दछ । दूधमा सात्विक गुण पाइन्छ ।

समग्रमा भन्दा गाईको महत्व शरीरको गुणमा मात्र छैन । जन्म देखि मृत्युसम्मको संस्कारमा गाई अपरिहार्य छ । चाहे जन्ममा न्वारन, पास्नी गर्दा गोवरले लिप्ने किन नहोस्, चाहे विवाहमा गोदान गर्ने पो किन नहोस्, त्यसरी नै मृत्य शैयामा पुग्दा समेत गाईको पुच्छर समातेर वैतरणी तरिन्छ भन्ने चलन छ । काज क्रियामा बस्दा समेत गहुँत खाएर चोखिने परम्परा रहेको छ । श्राद्धमा गाईको दूधमा पकाएको खीर खाइन्छ । रुघाखोकी लागेको अवस्था बाहेक अन्य बेलामा दूध अत्यन्तै पोसिलो मानिन्छ । यात्रा गर्दा पनि दही मुखमा हालेर हिडने गरिन्छ । पहिलेका वैज्ञानिक मानिने ऋषिमुनिहरु र आधुनिक अनुसन्धानकर्ताले गाईको गरिमा स्तर उच्च भएको सिद्ध गरेका छन् । तसर्थ गाईको सर्वोपरि महिमाको कदर गरौं । महत्त्व बुझौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!