काठमाडौं, कात्तिक १, २०८०;
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको ओलीको भनाइ छ ।
पार्टीनिकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आज काठमाडौँमा दसैँ–तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई केही देखाउन अनुशासनहीनताको सहारा लिने, उच्छृङ्खलताको सहारा लिने प्रवृत्ति बढिरहेको चर्चा गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समस्याहरू छन् हामीसँग । देशमा समस्या छ । ती समस्याको समाधान हामी गर्दै जानेछौँ । तर हामी जिन्दगीलाई खुसीयालीपूर्ण, उत्साहपूर्ण, उमङ्गका साथ मनाउँदै, अगाडि बढाउँदै अघि जानेछौंं ।’ देशको समस्या समाधान गर्न एमाले पार्टी रहेको उहाँले चर्चा गर्नुभयो ।
आज सिङ्गो एमाले आफ्ना अवयवसहित सक्रिय रहेको उहाँले बताउनुभयो । ‘जस्तो हाम्रो शरीरमा अवयवहरू सक्रिय हुन्छन् । त्यस्तै एमाले पनि सम्पूर्ण रूपले सक्रिय छ । सिङ्गो शरीर पनि गतिशील छ । एमाले पनि त्यसैगरी गतिशील छ” उहाँले भन्नुभयो, “अहिले समाजमा एउटा अराजकता बढेको छ । असहिष्णुता बढेको छ । त्यसले समाजलाई परस्परमा घृणा फैलाउने कामहरू भइराखेको छ । त्यसले एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइराखेको छ ।”
अध्यक्ष ओलीले मुलुकमा समस्याहरू रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भइरहेको बताउनुभयो । एमालेले मुलुकको समस्या समाधानका लागि सिङ्गो शक्तिलाई परिचालन गरिरहेको उहाँको भनाइ छ ।