काठमाडौँ, कात्तिक २०, २०८०ः
सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले शनिबार चिनीको कृत्रिम अभाव सिर्जना गरेर प्रतिकेजी १६० रुपियाँ लिने दुई वटा पसललाई कारबाही गरेको हो । विभागका निर्देशक आनन्दराज पोखरेलले बजारमा चिनी पर्याप्त आइसकेकाले प्रतिकेजी चिनीको ११५ रुपियाँभन्दा बढी लिनेलाई कानुन अनुसार कारबाही गरिने बताउनु भयो।
नेपाली उद्योगीसँग विभिन्न पेय पदार्थ उत्पादन कम्पनीले खरिद गरेर राखेको छ हजार मेट्रिक टन चिनी देशभरका बजारमा गइसकेकाले अब अभाव नहुने उहाँको भनाइ छ । बजारमा पर्याप्त चिनी आइसकेको र अब पनि विभिन्न बहाना बनाएर महँगो लिएमा कारबाही हुने निर्देशक पोखरेलको जानकारी दिनुभयो ।
चिनीको कालो बजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको नेपाल प्रहरीले जनाएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सरोकारवालाको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो । सो बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।