काठमाडौं, मंसिर ११ गते ।
काठमाडौँ महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको छ । पैदलयात्रीले यस प्रणालीको स्विच थिचेपछि जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर सडक पार गर्न सक्नेछन् ।
यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो । यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि सार्वजनिक स्थलमा नमुना परीक्षणका लागि राख्ने योजना बनेको हो ।
काठमाडौं महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार सडकको चौडाइ धेरै भएकोले बबरमहलमा चार वटा पोल राखिएका छन् ।
“पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ । यसलाई ४० सेकेण्ड बनाउने हो कि भन्ने छलफल भइरहेको छ । पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । अर्थात्, दुई मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ ।” खरेलले भन्नुभयो।
करिब सात लाख ६४ हजार रुपियाँको खर्चमा बबरमहलमा यो प्रणाली जडान गरिएको हो।
