मंगलसेन, मंसिर १६ गते ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
समृद्धि सहितको सङ्कल्प पदयात्राको क्रममा अछामको सदरमुकाम मङ्गलसेनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको टिप्पणी गर्नुभयो ।

नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी उहाँले गर्नुभयो । “एमाले सरकारमा हुँदा झलमल्ल बत्ती बलेजस्तो हुन्छ । एमाले सरकारबाट हटेमा बत्ती गएजस्तै अँध्यारो हुन्छ” अध्यक्ष ओलीले भन्नुभयो ।
पश्चिम सेती, सेती लोकमार्ग, माथिल्लो कर्णाली जलविद्युत आयोजना, चिसापानी–जंगलघाट–मङ्गलसेनको फाष्ट ट्रयाकलगायतको विकासमा एमाले दृढ रहेको उहाँले चर्चा गर्नुभयो ।
वर्तमान सरकारले नागरिकको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरू स्वार्थमा केन्द्रित रहेको आरोप लगाउनुभयो । वर्तमान सरकारका पालामा बेथिति मात्रै भएको उहाँले आरोप लगाउनुभयो ।