काठमाडौं, माघ १ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
सोमबार काठमाडौँको टुँडिखेलमा आयोजित थारु समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्ताबेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धिहरू समेत गुम्नसक्नेतर्फ सम्पूर्ण नेपालीलाई सचेत गराउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्ताबेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका महत्त्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढङ्गले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ।’’