नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छः मन्त्री शर्मा

काठमाडौं, १२ माघ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताउनुभएको छ ।

 पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २० औं लोकस प्राविधिक महोत्सव उद्घाटन गर्दै उहाँले अब पुरानो पुस्ताले गर्न सकेन भनेर आलोचना गरेर बस्नेभन्दा पनि नयाँ पुस्ताले हामी देश बनाउँछौं भनेर संकल्प गर्ने बेला आएको बताउनुभएको हो । ‘अहिलेको पुस्ताले पुरानो पुस्ताको जस्तो दुःख नभोगेको पनि नेपालको इतिहास पक्कै पढेको छ । सबै जनताका छोराछोरीले पढ्न लेख्न नपाउने, शासकहरुले गर्ने जस्तोसुकै अत्याचार पनि सहेर बस्नुपर्ने, उनीहरुसँग आँखा जुधाएर प्रश्न गर्न नपाउने, महिला, दलित, जनजाति, मधेशीजस्ता उत्पीडित समुदायलाई नागरिक नै नठान्ने जुन राजनीतिक व्यवस्था थियो, हामीले लामो संघर्ष गरेर, हजारौं हजार जनताका छोराछोरीले रगत बगाएर त्यसखाले व्यवस्थाको अन्त्य गरेका छौं’– उहाँले भन्नुभयो– ‘आज हामी सबै जनता बराबर हुने संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । पुरानो पुस्ताले लडेर यो परिवर्तन नल्याइदिएको भए आज पनि हामी पुरानै कालरात्रीमा रहने थियौं ।’

उहाँले अध्ययन अनुसन्धानका सिलसिलामा विश्वका जुनसुकै देशमा गए पनि जन्म दिने माटो र आफू हिडेको बाटोलाई कहिल्यै नबिर्स र त्यसरी प्राप्त गरेको विज्ञता देशका लागि प्रयोग विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । मन्त्री शर्माले थप्नुभयो– ‘अब पुरानो पुस्ताको योगदानको उचित सम्मान गर्दै देश बनाउने जिम्मा नयाँ पुस्ताले लिनुपर्छ । त्यसमा पनि अझै आजको सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले नै देश बनाउने कामको अगुवाई गर्नुपर्छ । त्यसका लागि तपाइँ नयाँ पुस्ताले समृद्ध नेपालको सपना देख्नुपर्छ ।’

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै भयो भन्ने नयाँ पुस्ताको गुनासोलाई मध्यनजर गरी इतिहासमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट नेतृत्व चयनको प्रक्रिया थालनी गरिएको जानकारी दिंदै उहाँले अब यसरी नै सबै विश्वविद्यालय र विद्यालयहरुमा पहुँच होइन, योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिंदै जानुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो । ‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको मुख्य कार्यदिशा अंगिकार गरेर हरेक क्षेत्रमा रुपान्तरणकारी योजना अघि बढाउन खोजिरहेको छ, त्यसमा तपाइँहरुको साथ र सहयोग चाहिएको छ’– मन्त्री शर्माले भन्नुभयो– ‘फेरि पनि दोहोर्याउन चाहन्छु, अब देश बनाउने नयाँ पुस्ताले हो, तपाइँहरु हरेक जनाले म यो देशको सफल नेतृत्व गर्न सक्छु भन्ने सपना देख्नुपर्छ ।’

विश्वमा एकपछि अर्को सूचना प्रविधिको विकास भइरहेको बेला अब यसबाट भागेर होइन, यसको उचित प्रयोग र आवश्यक विकास गरेर मात्रै देशलाई अघि बढाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले अब मुलुक डिजिटल रुपान्तरणविना कुनै पनि क्षेत्रमा अगाडि बढ्न नसक्ने नि स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!