नेपालमा खाना पकाउने ग्याँसको शुरुवात कसरि भयो?

सुनिल उलक:

उहिले खाना पकाउने ग्याँस लिन पनि फाराम भर्नुपर्थ्यो । डिपोजिट रकम जम्मा गर्नुपर्थ्यो । त्यसपछि पनि पालो कुरेर मात्र ग्याँस पाइन्थ्यो । तर अचेल निकै सहज छ । पसलमा गयो लियो आयो ।

नेपालमा खाना पकाउने ग्याँसको ब्यबसायको शुरुवात भारतीय ब्यापारी मुलराज गोकुलदास उदेसीले गरेका थिए । हुन त त्यस अगाडि पनि नेपालमा भारतबाट नै ग्याँसका सिलिन्डर ल्याएर बिक्री गरिने गर्दथ्यो । बि.सं. २०२६ सालमा नेपालमा नै ग्याँस उद्योग खोल्ने मनसायले भारतका प्रख्यात ब्यापारी समुह मुलराज गोकुलदास नेपाल भित्रिएका थिए । पेट्रोल डिजेल नै भारतबाट ड्रमबाट ल्याएर बेच्नुपर्ने अवस्थामा ग्याँस उद्योग चलाउनु कठिनाइ थियो । राजनैतिक साथ भए उद्योग सञ्चालनमा सहज हुने मनसायले भारतीय राजघरानाका ज्वाइ पशुपति शम्शेर राणासंग मिलेर नेपाल ग्याँस कम्पनी खोलेेका थिए । २०२७ सालमा नेपाल आयल निगमको स्थापना पछि ग्याँसको मुख्य आपूर्ति नेपाल आयल निगमले गर्ने भए पछि केही सहज भएको थियो । २०२८ सालमा भारतीय ब्यापारी मुलराज गोकुलदासले आफ्नो स्वामित्व पनि पशुपति शम्शेरलाई नै सुम्पिए । यस पछि भने श्रीमती उषाराजेको नाममा नेपाल ग्याँस कम्पनी दर्ता गराइ सिलिन्डरमा उत्पादन तथा बिक्री वितरणको थालनी भयो ।
बि.सं. २०४२ सालसम्म नेपाल ग्याँसको एकलौटी राज नै रह्यो । २०४३ सालमा एकै पटक दुइ उद्योग थपिए । लुम्बिनी ग्याँस कम्पनी गैडाकोटमा र कोशी ग्याँस उद्योग बिराटनगरमा खुल्यो । यस पछि एकछत्र गुम्ने डरले नेपाल ग्याँसले चितवनमा २०४४ सालमा अर्को उद्योग थपे । यसपछि भने बिस्तारै एलपिजि ग्याँस ब्यबसायमा धेरै उद्योगहरु खुल्न थाले । २०५१ सालमा एकैचोटी हिमाल, सागर, सिद्धार्थ, बाबा, शक्ति, मनोज तथा गौरीशंकर गरि ७ उद्योग थपियो ।
अहिले नेपालमा ५९ वटा बोटलिङ प्लान्टहरु सञ्चालित छन् ।

साथमा २०४४ सालमा पहिलो पटक ग्याँस सिलिन्डर लिने समयको लुम्बिनी ग्याँसको रसिद र धरौटी पत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!