प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त

दुई राष्ट्रिय भाषा नेवा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया सुरु

हेटौंडा, माघ २४, २०७९ः

बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा ललितपुरका होमनाथ चालिसे नियुक्त हुनुभएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२३ हात्तिवनका चालिसेलाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेशबाट एकीकृत सेवा प्रदान गर्ने विषयमा अध्ययन गर्न प्रदेशका प्रमुख सचिवको नेतृत्वमा समिति बनाउने निर्णय गरेको छ । यस्तै यसअघि गरेको खर्च कटौतिका विषयमा प्राप्त प्रतिवेदन अध्ययन गरेपश्चात लागू गरिने मन्त्री थपलियाले जानकारी दिनुभयो ।

यस्तै बागमती प्रदेश सरकारले प्रदेशमा बोलिने दुई राष्ट्रिय भाषा नेवा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया सुरु गरेको जनाएको छ । नेवा र तामाङ भाषालाई कसरी कामकाजको भाषा बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न समिति बनाएको छ । समितिमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ र वन तथा वातावरण मन्त्री राजु विष्ट रहनुभएको मन्त्री थपलियाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!