काठमाडौँ, माघ ९, २०८१ः
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। पार्टीको आज बसेको केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले यही जेठ १३ गते अपराह्न दिनको २ बजे काठमाडौँको प्रर्दशनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो।
पार्टीको काठमाडौँ जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन पार्टीको भ्रातृ सङ्गठन र सिङ्गो पार्टी पङ्क्तिलाई उपस्थित हुन बैठकले आह्वान गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो। कांग्रेसले संसदीय प्रक्रियालाई मिचेर गलत ढङ्गले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको विरोध र पीडितको पक्ष र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न सो विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्न लागिएको डा महतले बताउनुभयो।
नेपाली कांग्रेसले सरकारले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको जिकिर गर्दै त्यसप्रति निन्दा र भर्त्सना पनि गरेको छ।