प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

मध्यपुर थिमि, जेठ २०, २०८१ः

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिने बताउनुभएको छ ।

आज मध्यपुर थिमिमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उहाँले सरकारी निकायले पनि मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मातृभाषामा पत्रकारितालाई सरकारले प्रोत्साहित गर्नु आवश्यक छ, सरकारी निकायले पनि यसमा ध्यान दिनु जरुरी छ, मातृभाषामा प्रकाशन वा प्रसारण भएका सञ्चारमाध्यमप्रति सम्मान व्यक्त गर्न चाहन्छु, किनकि यसले मौलिक कला, संस्कृति र इतिहासलाई जोगाउन योगदान पुर्याएको छ ।”

मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्ने औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले मातृभाषामा गरिने पत्रकारिताले आदिवासी जनजातिका हराउँदै गएका मौलिकता र कला संस्कृतिको जगेर्ना हुनेमा आफूले विश्वास लिएको बताउनुभयो ।

नेवा पत्रकार राष्ट्रिय दबूले सार्क पत्रकार मञ्च र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को सहकार्यमा शनिबार ललितपुरमा उद्घाटन गरी आज मध्यपुर थिमिमा समापन गरेको सम्मेलनमा सार्क राष्ट्रलगायत विभिन्न देशबाट सहभागी पत्रकारबीच विभिन्न विषयमा छलफल भएको थियो ।

कार्यक्रमका सभापति नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, दबूका उपाध्यक्ष एवम् सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा लगायतले अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिताको महत्वमाथि चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!