जनकपुरधाम, १६ असार, २०८१ः
मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा जनकपुरधाममा पशुपक्षी तथा मत्स्य विकास क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विज्ञहरूले मधेश प्रदेशमा पशुपंक्षी तथा मत्स्य क्षेत्रमा विकासका लागि व्यापक सम्भावना रहेकाले उत्पादन तथा बजारीकरणमा ध्यान दिँदै थप लगानी गर्न सुझाव दिएको छ ।
दूधको उत्पादन बढाउनका लागि उन्नत जातको गाई भैँसीको पालन गरेर दूधको उत्पादन बृद्दीका साथै बजारीकरणमा पनि ध्यान दिनका लागि पशु सेवा बिभागका पूर्व महानिर्देशक एवं मधेश प्रदेश सरकारका पूर्व कृषि सचिव डा विमल कुमार निर्मलले जोड दिनु भयो ।
मधेश प्रदेशमा बाख्रा पालन त्यति फाइदा जनक नभएपनि बोयर जातको बोका तथा बाख्रा पालन गरेर बढी लाभ लिने अवस्था रहेको जानकारी दिँदै राजमार्ग क्षेत्रमा कुखुरा पालनको व्यापक सम्भावना रहेको भएपनि अहिले माग भन्दा कम उत्पादन भइरहेको उहाले बताउनु भयो ।
मत्स्य विज्ञ एवं मत्स्य विकास निर्देशनालय बालाजुका निर्देशक रमानन्द मिश्रले नेपालको कूल माछा पोखरी मध्ये मधेश प्रदेशमा मात्र ७५ प्रतिशत पोखरी भएको बताउँदै माछाको कूल उत्पादनमा मधेश प्रदेशको योगदान ५० प्रतिशत रहेको बताउनु भयो । उहाँले माछाको सुपर जोन धनुषा तथा बारामा भएपनि माछाको औद्योगिकरण गर्नु पर्नेमा उहाले जोड दिनु भयो।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव डा. सरोज कुमार चौधरीले मन्त्रालयले पशुपक्षी तथा मत्स्य विकासका लागि गरेको प्रयास तथा संस्थागत संरचनाको विषयमा जानकारी दिँदै मधेश प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भयो ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य ब्रज किशोर यादवले माछाको उत्पादन बढाउनका लागि पोखरीको क्षेत्रफल विस्तार गर्ने काम भएपनि अहिले वर्षा नभएर अधिकांश पोखरीहरू सुकेपछि माछाको उत्पादन घटेको बताउनु भयो ।
मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ मत्स्य विकास अधिकृत सन्तोष कुमार सिंह सहितका वक्ताहरूले विभिन्न राय सुझावहरू दिनु भएको थियो । कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा किसानहरूको ब्यापक सहभागिता रहेको थियो ।