अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य

भक्तपुर, १५ असार २०८१:

नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरले स्काउट मास्टर भेलाको साथमा समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सो कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड दिइएको छ ।

नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले समाजलाई अनुशासित र स्वयंसेवी बनाउनका लागि स्काउट पाठ्यक्रमको व्यवस्था गरी उमेर अनुसार शैक्षिक क्रियाकलाप बनाएको बारे समाजलाई जानकारी दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सदस्यता वृद्धि आयुक्त रहेका पूर्ण भक्त दुवालले स्वागत तथा कार्यक्रमको औचित्यतामाथि प्रष्ट पार्दै स्काउटिङ्ग क्रियाकलापमा एकरुपता ल्याउनुपर्ने आवश्यकता औल्याएका छन् ।स्काउटलाई शैक्षिक अभियानका रुपमा अगाडि लान विद्यालय व्यवस्थापन र अभिभावकलाई सचेत पार्नुपर्ने बताउँदै उनले दैवीप्रकोपलगायतका समयमा स्काउटले आफू पनि बचेर अरुलाई बचाउन सक्ने भएकाले यसको औचित्य र महत्व बारे व्यापक प्रचार प्रसार हुनुपर्ने धारणा राखे ।

स्थानीय परिषद सदस्य तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयहरुमा स्काउट शिक्षकहरु चलाक हुने गरेको र अतिरिक्त क्रियाकलापमा स्काउट मास्टर नै सक्रिय हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै स्काउट शिक्षालाई जीवनपद्धतिसँग जोड्नु पर्नेमा जोड दिए ।

स्थानीय स्काउट सदस्य सचिव रामेश्वर मचामसीले नगरपालिका, विद्यालय र स्काउट कार्यालय मिलेर स्काउटको सदस्यता वृद्धि गर्दै लैजानुपर्ने बताए । विद्यालयका प्रिन्सिपलहरुसँग छलफल गरी यसलाई थप विस्तार गर्न सके समाजमा इमान्दार र राष्ट्रभावले ओतप्रोत नागरिक उत्पादन हुने धारणा उनले राखेका थिए ।

स्थानीय स्काउट आयुक्त वालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा डा.सरोजकुमार सुवाल, रविन्द्र बासुकला, राष्ट्रिय परिषद सदस्य रत्ना चवाल, राष्ट्रिय प्रशिक्षक अच्युत प्रजापति, सहायक राष्ट्रिय प्रशिक्षकहरु सीता त्वानावासु, रुविना छुस्यावाग, राजेस गाइँजु, पवनकुमार बल्ललगायतले विभिन्न रचनात्मक सुझाव कार्यक्रममा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!