बाजुरा, असार १५ , २०८१ः
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् । शुक्रबार राति आएका अविरल वर्षाका कारण गोठमाथिबाट एक्कासि आएको पहिरोले पुरेपछि गोठमा रहेका ७० बाख्रा मरेको हुन् ।
पहिरोले पुरेर यहाँका गोरखराज बोहराका ४० वटा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी ७० वटा बाख्रा पहिरोले पुरेर मरेको हिमाली गाउँपालिका-२ का स्थानीय गोरखराज बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गोठमा रहेको ८० बाख्रामा १० वटा बाख्रा सकुशल रहेको छन् । अन्य ७० वटा बाख्रा पहिरोमा पुरेर मरेका हुन् ।”
हिमाली गाउँपालिका-२ को कोटीमा आएको पहिरोले ७० वटा भेडा मरेको भन्ने खबर आएपछि अहिले त्यो ठाउँमा प्रहरीका टोली पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।