पुरानै ढर्रामा रहेर मिडिया चलाउन नसकिने : अध्यक्ष बस्नेत

बाँके, २६ असार, २०८१ः

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कतिपय पत्रकारहरूले गरेको कर्मका कारण नेपालमा पत्रकारितामाथि प्रश्न उठिरहेको बताउनुभएको छ ।

सूचना प्रविधिले ठुलो फड्को मारेको उल्लेख गर्दै उहाँले पुरानै ढर्रामा रहेर मिडिया चलाउन नसकिने स्पष्ट पार्नुभयो। नागरिकबाट पत्रकारिता विषयमा प्रश्न उठ्न थालेकोतर्फ सचेत गराउँदै प्रश्न उठ्ने अवस्था आउन नदिन पत्रकारले मेहनत गर्ने बेला आएको बस्नेतले बताउनुभयो ।

बुधबार नेपालगञ्जमा प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ विषयक कार्यक्रममा उहाँले राज्यले प्रेस काउन्सिल गठन गरे पनि सहज वातावरणमा काम गर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको समन्वयमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले बाँके जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था र पत्रकारितामा युट्युब र सामाजिक सञ्जालको प्रभावबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाईले प्रेस काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमहरूले अनिवार्य रुपमा पत्रकार आचारसंहिता पालना गर्नुपर्ने बताउँदै पछिल्लो समयमा पत्रकारितामा युट्युब र सामाजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा नियमन तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा बाँके जिल्लाका १ सय १५ भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!