जनकपुर, २९ असार २०८१ः
मधेश प्रदेशमा सञ्चालित अधिकांश प्रयोगशालाहरूले नेपाल सरकारले बनाएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड पालना नगरेको पाइएको छ ।
मधेश जनस्वास्थ्य प्रयोगशालाले आज जनकपुरधाममा आयोजना गरेको नीजि तथा सरकारी प्रयोगशालाको मापदण्ड तथा गुणस्तरसम्बन्धी गोष्ठीमा सो कुराको जानकारी दिईएको हो।
गोष्ठीमा मेलानका अध्यक्ष सुरेश शर्माले प्रयोगशालाको शुल्कमा भिन्नता रहेकोले एकरूपताका लागि शुल्कको निर्धारण राज्य स्तरबाट नै हुनुपर्ने माग गर्नुभयो । शर्माले जनकपुरका कतिपय प्रतिष्ठित चिकित्सकहरूले नै कमिसनका लागि एउटै रोगको परीक्षण फरक फरक प्रयोगशालामा गराउने गरेका कारण जनता ठगीमा पर्ने गरेको बताउनुभयो ।
पुष्पाञ्जली प्रयोगशालाका विवेक ठाकुरले प्रयोगशालाहरूमा रहेका फरक फरकको शुल्कका कारणले आम उपभोक्ताहरू मारमा पर्ने गरेको बताउँदै स्तर अनुसारको परीक्षण शुल्क सरकारले नै निर्धारण गरिदिनुपर्ने सुझाव दिनुभयो ।
प्रयोगशालाकर्मी सुनिल महतोले पहिलाको तुलनामा जनकपुरका प्रयोगशालाहरूको गुणस्तरमा सुधार भएको बताउँदै सरकारी स्तरबाट प्रयोगशाला स्थापना भएपछि नीजि क्षेत्रको प्रयोगशालाहरूमा सुधार गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाले कानून बारेमा थाहा छैन भन्ने छुट हामी कसैलाई पनि नभएको बताउँदै प्रयोगशालाका लागि नेपाल सरकारले बनाएको निर्देशिका विपरीत भए कारबाही हुने बताउनुभयो ।
गोष्ठीमा मधेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्रले दर्ता भएका प्रयोगशालाको सङ्ख्या २ सय ५० वटा रहेको बताउँदै सरकारी स्तरबाट सञ्चालित प्रयोगशालाले नीजि स्तरको प्रयोगशालालाई कमजोर गर्नका लागि स्थापना नभई कही कतै नभएको परीक्षणको सुविधा दिनका लागि भएको बताउनुभयो ।