पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पदभार ग्रहण नगरी फर्के
काठमाडौँ, असार ३१, २०८१ः
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरुको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ । आज पद तथा गोपनियताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुग्नुभएका अधिकारीले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरुसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
उहाँले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गर्नुभयो । उहाँले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताउनुभयो । पदभार ग्रहण गर्न पुगेपनि पदभार ग्रहण नगरी फर्किनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले क्याबिनेट बस्दैछ । तपाईंहरुका समस्याहरु मैले सुनेँ । तर यसलाई राम्रो ढङ्गबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु ।’’