काठमाडौँ, साउन १, २०८१ः
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये हालसम्म १५ जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मङ्गलबार बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ ।
यसैगरी, चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।
उनीहरुको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । ६ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

