भक्तपुर, साउन ८, २०८१ः
भक्तपुर जिल्लाबाट नियमित रूपमा हरेक बिहीबार प्रकाशित हुँदै आएको परिवर्ततशील आवाज’ साप्ताहिक १७ औं बर्षमा प्रबेश गरेको छ।
सोहि अबसरमा आयोजित एक कार्यक्रममा ‘परिवर्तनशील आवाज’ का प्रकाशक रामचन्द्र प्रजापतिले देश र जनतालाई सही सूचना प्रवाह गर्दै स्वतन्त्र, निष्पक्ष र व्यवसायिक पत्रकारिता गर्ने ध्येयका साथ १७ वर्षअगाडि प्रकाशन शुरु गरिएको ‘परिवर्तनशील आवाज’ आफ्नो ध्येयमा अडिग रहेको र रहिरहने प्रतिबद्धता जनाएका थिए ।

नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईंले साना र स्वरोजगारमूलक पत्रपत्रिकाको स्थायित्वका लागि अझै लामै लडाईं लड्न बाँकी रहेको बताउँदै त्यसका लागि राज्यलाई सदैव घचघच्याउन र लडाईंको अग्रभागमा खट्न आफू तयार रहेको बताएका थिए ।
वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाले साना लगानी र स्वरोजगारमूलक पत्रपत्रिकाको हकहित संरक्षण र उत्थानमा सरकारी निकाय उदाशीन देखिनु दुर्भाग्य भएको बताए । उनले नेपाल पत्रकार महासंघको नेतृत्वमा साना लगानी र स्वरोजगारमूलक पत्रपत्रिकाको पीडा बुझेकाहरू नपुग्दा सरोकारवालाहरूलाई घचघच्याउन असहज भएको आरोप लगाए । हुँदै गरेको नेपाल पत्रकार महासंघको निर्वाचनमा राजनीतिक पार्टीनिकट भ्रातृ संगठनका उम्मेदवारभन्दा पनि व्यवसायिक पत्रकारहरूलाई नेतृत्वमा पुयाउन वरिष्ठ पत्रकार देवकोटाले सबैसँग आग्रह गरे ।

वरिष्ठ पत्रकार प्रविणराज जोशी र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इञ्चार्ज रमेश गिरीले पत्रकारिता समाजको ऐना भएकाले सत्य तथ्य समाचार प्रवाहमा परिवर्तनशील आवाज’ लाई सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा नौलोआयाम डटकमका सम्पादक रत्नकाजि प्रजापतिले पत्रिकालाई समय सापेक्ष सुधार गर्दै लानु पर्ने बताउदै पत्रिका अनलाईन भर्सनमा पनि प्रकाशन गर्न सुझाए।
परिवर्तनशील आवाज’ साप्ताहिकका सम्पादक कृष्ण प्रजापतिले पत्रिका प्रकाशन शुभारम्भ गर्दाका क्षणदेखि लिएर सत्र वर्षका बीचमा आफूहरूले गरेको संघर्षका कथा सुनाउँदै भविष्य पर्यन्त परिवर्तनको आवाज बुलन्द गर्नका निम्ति आफूहरू उच्च हौसला र मनोबलका साथ क्रियाशील रहते बताएका थिए ।