काठमाडौँ, साउन १८, २०८१ः
काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई खोप लगाएको जानकारी दिनुभयो । उहाँले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताउनुभयो । उपत्यकामा दुई लाख ७९ हजार छ सय ८१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो । उहाँका अनुसार काठमाडौँ जिल्लामा दुई लाख तीन हजार आठ सय ९८ जना, ललितपुरमा ५२ हजार दुई सय ३२ र भक्तपुरमा ४१ हजार सात सय ९५ जनालाई पोलियो रोग विरुद्धको खोप लगाएका छन् । यसपटक मुखबाट खुवाइने ‘ओपिभि’ खोप खुवाइएको थियो ।
मन्त्रालयले टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घरघर पुगेर पोलियो विरुद्धको खोप खुवाएका थिए ।