चितवनमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही

चितवन, साउन १८, २०८१ः

आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ । कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिनुभयो ।

बिलबिजक अनुसन्धानको क्रममा आयकरतर्फ ७१ करोड ८३ लाख ९९ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३२ करोड ९८ लाख २५ हजार कर निर्धारण गरिएको छ । यहाँ रहेका कवाडी व्यवसायी, हार्डवेयर, किचनका सामग्री बिक्री गर्ने पसल र कपडा पसलको दुईदेखि तीन आर्थिक वर्षसम्मको विवरण अनुसन्धान गर्दा यस्तो भेटिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नक्कली भ्याट बिल बनाउनेमा कवाडी व्यवसायी रहेका छन् ।

यस्तै, कार्यालयले गत वर्ष दुई सय २७ पटक बजार अनुगमन गरी सात करोड ५१ लाख जरिवाना असुल गरेको छ । कार्यालयमा दर्ता भएका व्यावसायिक फर्ममध्ये पाँच सय ६९ वटाको लेखा नम्बर बन्द गरिएको छ । यहाँ दुई हजार छ सय १७ जनाले लेखा नम्बर बन्द गराउन निवेदन दिएका थिए । भट्टराई भन्नुभयो, “लेखा नम्बर बन्द गर्नका लागि दिएका निवेदनको राजश्व बाँकी रहेको नरहेको हेरेर मात्र काम गर्न सकिने हुँदा कम सङ्ख्यामा करदाताको लेखा नम्बर बन्द गरिएको हो ।” गत आर्थिक वर्षमा तीन हजार सात सय ५६ जना व्यवसायीले नयाँ व्यावसायिक लेखा नम्बर लिएका छन् । यस कार्यालयमा हाल व्यावसायिक लेखा नम्बर लिनेको सङ्ख्या ५७ हजार नौ सय १९ रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!