मलेसियाबाट फर्केका खड्गबहादुरले गरे अकबरे खुर्सानीको खेतीः वर्षमा लाखौ कमाई

इलाम, साउन २०, २०८१ः

माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीले अकबरे खुर्सानीको खेती गरेर लाखौ आम्दानी गरिरहेका छन। यसैको कमाईबाट कार्कीले घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन।

मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेका कार्कीले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन। ‘गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो,’ कार्कीले भने, ‘प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयँसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु।’

यो वर्ष उनले पाँच हजार बोट अकबरे रोपेका छन्। उनले आफ्नो चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर ८ रोपनी क्षेत्रमा खेती गरेका छन्। उत्पादित अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उनी बताउँछन्।

‘दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ,’ कार्कीले भने।

हरियो खुर्सानी प्रतिकेजी दुई सय ५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन्।

कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाए। उनले अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आएका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!