भक्तपुर, २० श्रावण २०८१ः
नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा भक्तपुर इन्चार्ज महेश बस्नेतले भक्तपुर एमालेलाई सुदृढ र व्यवस्थित बनाउने २५ वटा रणनीति तथा योजनाहरु सार्वजनिक गर्नुभएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको सम्मानमा नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई राष्ट्रिय राजनीतिको केन्द्रको रुपमा स्थापित गर्ने रणनीतिहरु सार्वजनिक गर्नुभएको हो । एमाले भक्तपुरको इन्चार्ज भएपछि पार्टीले आयोजना गरेको पहिलो कार्यक्रममा उहाँले आगामी दिनमा एमाले भक्तपुरलाई सुदृढ र व्यवस्थित गर्नलाई निम्नानुसारका योजना तथा रणनीतिहरु सार्वजनिक गर्नुभयो।
बस्नेतका २५ रणनीतिहरुः
१. २०७४ सालको निर्वाचनको भन्दा थप विकसित र प्रभावकारी हुने गरी संगठन विस्तार र जनपक्षीय कार्य गर्ने,
२. पार्टीको आन्तरिक सामान्य विवादलाई पनि पार्टीको विधान अनुसार आन्तरिक रुपमा समाधान गर्ने,
३. सूर्यविनायक नगरपालिकामा अन्य दललाई शुन्यतामा झार्ने, मध्यपुर नगरपालिकामा बहुमत सहित कार्यकारी पदमा विजयी हासिल गर्ने, चाँगुनारायण नगरपालिकामा प्रचण्ड बहुमतसहित विजय हुने गरी गतिविधिहरु सञ्चालन गर्ने, भक्तपुर नगरपालिकामा कम्तिमा पनि एक भन्दा बढि विजयको ढोका खोल्ने,
४. नेतृत्वले आफ्नो वडा, नपा, क्षेत्र जिताउन सोही ठाउँको नेतृत्वले गर्नुपर्ने,
५. अबको दुई वर्ष आफ्नो भुगोल र जिल्लामा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, पार्टीमा उर्जाशिल र समयको सदुपयोग गर्ने,
६. आगामी निर्वाचनमा कुनै पनि कमिटीले उम्मेदवारसँग एक रुपैया पनि लिन्न भन्ने बनाउने, त्यही वडा अध्यक्ष सक्षम र योग्य हो भन्ने स्थापित हुने गरी अभियान चलाउने, चन्दा नमाग्ने,
७. मिसन ८४ अन्तरगत भक्तपुरलाई एमालेको लालकिल्ला बनाउने,
८. प्रत्येक वडा कमिटी, टोल कमिटी, नगरकमिटीलाई मजबुद बनाउने,
९. प्रत्येक वडा–वडाका कमिटीमा प्रशिक्षणका कार्यक्रम गर्ने,
१०. असल जीवन र जनवादी जीवन शैलीलाई यापन गर्ने र पूँजीवादी जीवनशैलीलाई निशेध गर्ने अभियान चलाउने,
११. पार्टीका नेता तथा कार्यकर्तालाई संरक्षण, उचित योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिने,
१२. पार्टीले नेता तथा कार्यकर्ताको अभिभावको भूमिका खेल्ने,
१३. निर्वाचनको समयमा नेताले कार्यकर्तालाई सहयोग गर्ने हैन, कार्यकर्ताले नेतालाई आर्थिक सहयोग गरी अनियमितता र भ्रष्टाचारलाई तल्लो तहबाट नै निर्मूल पार्दै आत्मनिर्भरताका अभियान चलाउने,
१४. युवा पंति संगठित र प्रशिक्षित गराउने, संगठनको बलमा मतदाता बढाउने,
१५. अन्तरविरोध हटाई आन्तरिक एकतालाई मजबुद बनाउने, जनताको अकर्षणलाई थप उचाईमा पुर्याउने,
१६. जनताको संकट र अप्ठ्यारोलाई सहजतामा रुपान्तरण गर्ने एमाले हो भन्ने स्थापित भएको र त्यसलाई थप व्यवस्थित गर्दै अझ आकर्षण बढाउने, त्यसलाई एमालेको पूँजीको रुपमा लिने र जोगाउने,
१७. मन्त्री र राष्ट्रिय राजनीतिको मियोको रुपमा भक्तपुर एमालेलाई स्थापित गराउने, भक्तपुरको आवाजलाई विकास निर्माण र नीति निर्माणमा स्थापित गराउने,
१८. विकास र समृद्धिका प्रत्येक स्थानमा एमालेले नेतृत्व गर्ने, जनतालाई साथ साथै लैजाने,
१९. एमालेका युवालाई उद्योगी र व्यवसायी बनाउन विशेष भूमिका खेल्ने,
२०. द्वन्द्व र विवाद सधैंको लागि अन्त्य गर्ने,
२१. कार्यकर्ताले पार्टीको विरोधी, अपराधी तथा भ्रष्टाचारीको लागि बाघ जस्तै हुनुपर्ने र पार्टीको लागि सभ्य हुनुपर्ने,
२२. पार्टीको नेता तथा कार्यकर्ताले निर्वाचन तथा अन्य समयमा विरोधीसँग साँठगाँठ गरे कारवाही गर्ने,
२३. आफ्नो पार्टी तथा नेताविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक अभिव्यक्ति दिन नपाउने, गुटगत रुपमा नेताले कार्यकर्तालाई नियन्त्रण गर्ने प्रसास गर्न नपाउने, कम्युनिष्ट पार्टीको नेता सामन्तवादीको नाईके हुन नदिने,
२४. सवै नेतालाई सम्मान गर्ने, हरेक कार्यकर्तालाई संरक्षण, सुरक्षा र उचित अवसर दिने,
२५. अनुशासित र एकतावद्ध एमाले बनाउने ।